एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठको चुनावी अभियान डाडाखेतबाट शुरु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । नेकपा (एमाले) मूल निर्वाचन प्रचारप्रसार कमिटी बेनी म्याग्दीको आयोजनामा सोमबारदेखि आसन्न चुनावको औपचारिक प्रचारप्रसार कार्यक्रम सुरु भएको छ ।
एमालेले म्याग्दीमा बेनी नगरपालिका ४ डाँडाखेतबाट निर्वाचनको प्रचारप्रसारलाई अगाडि बढाएको हो । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनलाई लक्षित गर्दै यसअघि जिल्लामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम मात्रै सञ्चालन गरेको एमालेले निर्वाचन आचारसंहिता अनुसार सोमबारदेखि खुला आमसभा, भेलालगायत कार्यक्रमहरु आयोजना गरिएको जनाएको छ ।
निर्वाचन आयोगका अनुसार आजदेखि राजनीतिक दल तथा उम्मेदवारहरुले औपचारिक रुपमा निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत जुलुस, आमसभा, भेला, कोणसभा गर्न र सञ्चारमाध्यमहरुमा चुनाव सम्बन्धी सामग्रीहरु प्रकाशन तथा प्रसारण गर्न पाउँछन् ।
सोही कार्यक्रम अनुसार डाँडाखेतमा आयोजित खुला कार्यक्रमलाई सम्बोधन गर्दै एमाले म्याग्दीका प्रतिनिधि सभातर्फ प्रत्यक्ष उम्मेदवार हरिकृष्ण श्रेष्ठले आफू विगत लामो समयदेखि राजनीति र सामाजिक क्षेत्रमा आबद्ध भएर समग्र जिल्लाको विकासमा लागेको बताउनुभयो । उहाँले म्याग्दीमा एमाले पार्टी र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विकास निर्माण तथा जिल्लालाई अगाडि बढाउन आवश्यक कामहरु गरेको बताउँदै पर्यटन, जलविद्युत, कृषि क्षेत्रको विकास गरेर स्वदेशमै रोजगारी र्सिजना गर्ने आफ्नो चुनावी प्रतिबद्धता रहेको बताउनुभयो ।
नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहनुभएका उम्मेदवार श्रेष्ठले विगतमा एमालेको पहलमा भएका विकास निर्माणलाई थप स्तरोन्नति र दिगो तरिकाले अगाडि बढाउन तथा जनताको हकहितका लागि काम गर्नेगरी आफू पुनः निर्वाचनमा होमिएको बताउनुभयो । उहाँले देशमा विकासको नेतृत्वदायी भूमिका निर्वाह गर्ने तथा जनमुखी कार्यक्रम, नीति र बजेट ल्याएर कार्यान्वयन गर्ने पार्टी एमाले भएको बताउँदै नेकपा एमाले पार्टी र एमालेका उम्मेदवारहरुलाई जिताउन अपिल गर्नुभयो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा समानुपातिक उम्मेदवार नरदेवी पुनले आफ्नो कार्यकालमा जिल्लामा थुप्रै विकास निर्माणका कामहरु भएकाले बाँकी रहेका कामलाई पूर्णता दिन आफू फेरि पनि निर्वाचनमा उठेको बताउनुभयो । उहाँले देशमा अर्थतन्त्रको विकास गरी देशलाई विकासको गतिमा अघि बढाउने पार्टी एमाले भएको तथा गाउँगाउँमा विकास निर्माणको सुरुवातकर्ता पनि एमाले नै भएको बताउँदै आउँदो निर्वाचनमा एमालेलाई जिताउन मतदातालाई आग्रह गर्नुभयो । अहिलेको निर्वाचन देश जलाउने र बचाउनेका बीचको प्रतिस्पर्धा भएकाले देशको राष्ट्रियता बचाएर विकास गर्नका लागि एमाले पार्टी र एमालेका उम्मेदवारलाई भोट दिनुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले एमाले नेतृत्वको सरकारले नेपालमा वि.सं. २०५१ सालबाटै विकासको लहर ल्याएको बताउनुभयो । उहाँले सरकारको नेतृत्व गरेको समयमा एमालेले देशमा अर्थतन्त्रको सुधार, सुरुङमार्ग निर्माण, तेलखानी तथा फलाम खानीहरु पत्ता लगाउने, चीनसँग जोडिएका सीमा नाकाहरु खोल्ने, ज्येष्ठनागरिक, एकल महिला, अपाङ्गता, असहायलाई सामाजिक सुरक्षाभत्ता दिने जस्ता जनमुखी कामहरु गरेको बताउनुभयो । संविधान निर्माणमा समेत एमालेको भूमिका महत्वपूर्ण रहेकाले देशको विकास निर्माण तथा समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानलाई पूर्णता दिन आउँदो निर्वाचन एमालेले जित्नुपर्ने बताउनुभयो ।
कार्यक्रम नेकपा एमाले म्याग्दीका लेखा कमिटी संयोजक एवं पूर्व वडा अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता र बेनी नगरपालिका कमिटीका अध्यक्ष बेलबहादुर कटुवालको सञ्चालनमा सम्पन्न भएको थियो । डाँडाखेतबाट सुरु भएको एमालेको निर्वाचन प्रचारप्रसारको औपचारिक कार्यक्रम अन्तर्गत सोमबार बेनपा ४ को पौडेलचोक, तातोपानी बजार क्षेत्र, २ नम्बर वडा ज्यामरुककोट, भकुण्डे र खबरामा भेला, मतदाता भेटघाट, घरदैलोलगायत कार्यक्रम गरिएको एमाले अध्यक्ष सुवेदीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...