
ताराखोला ः बागलुङको ताराखोला गाउँपालिका–४ मा रहेको नेपाल माविले स्थापना गरेको अक्षयकोषमा रु. एक करोड संकलन भएको छ ।
माघ २५ देखि फागुन १ गतेसम्म बिविध कार्यक्रम सहित मनाइएको ५७ औ स्थापना दिवसको कार्यक्रममा प्राप्त भएको रु. ३७ लाख सहित उक्त रकम संकलन भएको हो । प्राविधिक तर्फ पशुुविज्ञान विषयमा दश जोड दुई तहको पठनपाठन सञ्चालन गरेको विद्यालयको शैक्षिक र भौतिक विकासमा परिचालन गर्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोषमा हालसम्म रु. एक करोड दुई लाख संकलन भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम खत्री (दिवस)ले बताउनुभयो ।


“दाताहरुले आफ्ना दिवंगत अभिभावक र दिवंगत भएका पुर्व विद्यार्थीहरुको स्मृतिमा उनिहरुका अभिभावकले अक्षयकोषमा सहयोग गर्नुभएको छ,” उहाँले भन्नुभयो “विदेशमा रहेका ताराखोलाबासीहरु आवद्ध संघ संस्था र ब्यवसायीहरुले ब्यक्तिगत रुपमा पनि सहयोग गर्नुभएको छ ।”
विद्यालयको आन्तरिक स्रोतको कोषमा रहेको रु. ६५ लाखबाट सुरु गरिएको अक्षयकोषमा ५६ औ वार्षिकोत्सवको अवसरमा गत वर्ष रु. १५ लाख सहयोग प्राप्त भएको थियो । अक्षयकोषलाई वृद्धि गरेर रु. दुई करोड बनाउने र सोको ब्याजबाट विद्यालयले पठनपाठनमा गरेको नमुुना अभ्यासलाई निरन्तरता दिन परिचालन गरिने अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

अक्षयकोषमा गलकोट समाज जापानले रु. पाँच लाख, जितबहादुर खत्रीले रु. तीन लाख, टिकाराम कडेलले रु. दुई लाख, गैरआवासीय नेपाली संघ जापानले रु. एक लाख ५० हजार, यमबहादुर खत्रीले रु. एक लाख, भिमबहादुुर पाण्डेको परिवारले रु. एक लाख, कर्णबहादुर केसीले रु. दुुई लाख ११ हजार एक सय ११, हुमाकुुमारी कडेलले रु. दुई लाख, रती घर्तीले रु. ६५ हजार, पोकबहादुर घर्तीले रु. ५० हजार र चित्रप्रसाद गौचनले रु. एक लाख सहयोग गर्नुभएको छ ।
यसैगरी राम चालिसेले रु. तीन लाख ५० हजार र प्रकाश थापाले रु. तीन लाख ५० हजार, तीन लाखिम गैरेले रु. ५० हजार र भक्त चोखालले रु. ५० हजार सहयोग गर्नुभएको छ । यसैगरी स्व. हरिबहादुुर चोखालको स्मृतिमा उहाँका बुुवा पोकबहादुर चोखालको रु. चार लाख ५५ हजार सहयोगमा विद्यालय भवनमा एक वटा कोठा निर्माण भएको छ ।
चार सय ११ जना विद्यार्थीहरु अध्ययनरत विद्यालयका विद्यार्थीहरुको साधारणतर्फ सरदर सिकाई उपलब्धी ५५ दशमलब ९५ र प्राविधिक धारतर्फका विद्यार्थीको सिकाई उपलब्धी ६५ दशमलब १५ प्रतिशत रहेको प्रअ प्रकाश रोकाले जानकारी दिनुभयो ।
संघीय सरकारको नमुना विद्यालय कार्यक्रम मार्फत ३४ कोठा क्षमताको पाँच वटा भवन निर्माण सकिएको र एक वटा निर्माणाधिन रहेको छ । ११ कोठे एक वटा छात्रावास, १३ कोठे शौचालय, कम्युुटर, विज्ञान प्रयोगशाला र पशु विज्ञान प्रयोगशाला स्थापना भएको छ ।
कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउने गरिएको छ । कोरियाको संस्थाको सहयोगमा सूचना प्रबिधीयुुक्त अत्याधुनिक मल्टिमिडिया र प्रबिधीयुक्त कम्युटर विषयको पठनपाठन हुुने कक्षा कोठा समेत रहेको छ ।
ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर बिक (हिमाल)ले नेपाल माविलाई आवासीय विद्यालयको रुपमा सञ्चालन गर्ने, स्कुल बसको सुविधा थप गर्ने र क्याम्पस समेत स्थापना गर्ने योजना रहेको बताउनुभयो ।

