
बेनी, म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानमा शनिबार माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।
बाबियाचौर–सल्यान सडकको ग्यावीयन पर्खाल लगाउने क्रममा ढिस्को खसेर पुरिएका रोल्पाको सुनछहरी गाउँपालिका –२ का २८ वर्षीय सत बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार प्रदेश अस्पताल बेनीमा उपचारको क्रममा बुढाको मृत्यु भएको हो । सत बुढासँगै ढिस्कोले पुरिएका रोल्पाको सुनछहरी गाउँपालिका–२ का टेकबिर बुढामगर र केशमान बुढामगरलाई उद्धार गरि उपचारका लागि प्रदेश अस्पताल बेनीमा ल्याइएको थियो ।

टेकबिर र केशमान उपचार पछि अस्पतालबाट डिस्चार्ज भएका र मृतक सतबुढाको शव प्रदेश अस्पताल बेनीको शव गृहमा परिक्षणका लागि राखिएको प्रहरी निरीक्षक तिमिल्सीनाले बताउनुभयो । दिउँसो १ बजेको समयमा काम गरिरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खसेर उनिहरुलाई पुरेको थियो ।
इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रनिन्द्र कार्कीको नेतृत्वमा बाबियाचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुमन थापा सहित २२ जना सुरक्षाकर्मी तथा स्थानीयबासीहरुले डोजरको सहायताले माटो पन्छाएर मजदुरको उद्दार गरेका थिए ।

