
बेनी ः जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडकको भुतादैला–तोरीपानी खण्ड स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्य अघिनै सम्पन्न भएको छ ।
म्याग्दीको रणनीतिक महत्वको यस सडकको स्तरोन्नति भएको क्षेत्र बेनी नगरपालिका–९ साविक घतान गाविसको भूगोलमा पर्छ । पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालित बेनी–पाखापानी सडक योजना अन्तर्गत बेनी नगरपालिका–९ भुतादैला देखि नेप्टेचौर हुदै तोरीपानी खण्ड स्तरोन्नतिको काम लक्ष्य भन्दा पाँच महिना अघिनै सम्पन्न भएको हो ।
यो सडक योजना निर्माणका लागि वि.स. २०८१ जेठ २० मा पूर्वाधार विकास कार्यालय र मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रा.ली. नुवाकोटले रु. ११ करोड ७६ लाख १२ हजार पाँच सय ४१ मा ठेक्का सम्झौता गरेको थियो । आगामी २०८३ जेठ २० गतेसम्मको म्याद रहेको योजना निर्माण कार्य माघको तेस्रो साता सकिएको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताउनुभयो ।
बजेट अभाव

“कालोपत्र भएको सडकमा रंगरोगन र संकेतचिन्ह तथा साइडबार लगाउने काम पनि सकिएको छ,” उहाँले भन्नुभयो “बजेट अभावको असहज अवस्थाको बावजुद पनि पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री ब्यवस्थापन गरेर लक्ष्य अघिनै योजना सम्पन्न गरिएको हो ।”
निर्माण ब्यवसायी कार्कीले काम सम्पन्न गरेपनि सरकारले बिनियोजन गरेको बजेट सकिएकाले पुरै बिलको भुक्तानी नपाएको गुनासो गर्नुभयो । कार्यालयका अनुसार यो योजनाका लागि रु. दुई करोड ५० लाख बजेट अपुग भएको छ ।
चार किलोमिटर दुरीमा स्तरोन्नति
भुतादैला देखि नेप्टेचौर स्थित वडा कार्यालय सम्म एक किलोमिटर नौ सय मटिर दुरीमा प्रिमिक्स प्रबिधीको कालोपत्र भएको छ । नेप्टेचौर देखि तोरीपानी स्थित गलेश्वर मावि परिसरको थप दुई किलोमिटर दुरीमा सडक फराकिलो, ग्रेड, घुम्ती सुधार र अप्ठ्यारो ठाउँमा ढलान भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाले बताउनुभयो । पाँच सय ५० मिटर दुरीमा ढलान र दुई किलोमिटर पाँच सय मिटर दुरीमा ग्राभेल भएको छ । यसअघि तीन दशमलब पाँच मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ ।
म्याग्दी १(क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले निर्माण ब्यवसायीको इच्छाशक्ति, सम्बद्ध कार्यालयको समन्वय, जनप्रतिनिधी तहबाट सहजिकरण र समुदाय स्तरमा साथ पाउने हो भने विकास आयोजनामा हुने ढिलासुस्ति हटाउन सकिने सन्देश बेनी–पाखापानी योजनामा लक्ष्य अघिनै भएको कामले दिएको बताउनुभयो ।
“धेरै आयोजनाहरु समयमै सम्पन्न नहुँदा अलपत्र पर्ने, लागत बढ्ने र जनताले लाभ लिन नसकेको अवस्थामा लक्ष्य अघिनै योजना सम्पन्न हुन हाम्रा लागि सकारात्मक विषय हो,” उहाँले भन्नुभयो “जिल्लामा भित्रिएका योजनालाई निर्धारित समयमा गुणस्तरीय रुपमा सम्पन्न हुने वातावरण बनाएका छौ ।”

रणनितिक महत्वको सडक
बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ नं वडालाई बेनीबजारसँग जोड्ने बेनी–पाखापानी सडकलाई म्याग्दीको प्राथमिकताप्राप्त आयोजना घोषणा गरिएको छ । वि.स. २०५६ मा तत्कालीन जिल्ला विकास समितिले मार्ग खोलेको यो सडक २७ वर्षपछि स्तरोन्नति हुँदा स्थानीयबासीमा खुसीयाली छाएको बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो ।
निर्माण कार्यको नागरिक तहबाट निगरानी र स्थानीय समस्यालाई समाधानका लागि सहजिकरण गर्न सरोकार समिति बनाइएको उहाँले बताउनुभयो । संघीयता कार्यान्वयन हुनुअघि तत्कालीन जिल्ला विकास समिति अन्तर्गतको ‘ड्रिलीप’ परियोजना मार्फत सञ्चालित योजनाले पूर्णता पाउन सकेको थिएन् ।
बेनी–पाखापानी सडकलाई म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा आर्थिक वर्ष २०८०÷०८१ मा रु. चार करोड बजेट बिनियोजन र रु. २० करोडको स्रोत सुनिश्चितता गरेर बहुबर्षीय ठेक्का लगाउने निर्णय गराउनुभएको थियो ।
यात्राअवधी छोटियो
यात्रा अवधी छोटिएको, झञ्जट र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको नेप्टेचौरका बासिन्दा क्षेत्रबहादुर चोखालले बताउनुभयो । सफा सडकमा सहज रुपमा यात्रा गर्न पाउँदा खुसी लागेको उहाँले अनुभव सुनाउनुभयो ।
यसअघि तोरीपानी देखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकोमा स्तरोन्नतिपछि २० मिनेटमै पुग्न सकिने भएको नेप्टेचौरका नरबहादुर चोखालले बताउनुभयो । बेनी देखि तोरीपानी सम्म अटो रिक्सा चल्न थालेको छ ।
सार्वजनिक यातायातको भाडादर समायोजन गर्न र तोरीपानी देखि पात्लेखेत, झिँ, पाखापानी तर्फको सडक स्तरोन्नतिका लागि थप योजना र बजेटको ब्यवस्था गर्न स्थानीयबासीले माग गरेका छन् । बेनी देखि किराखोर सम्म करिब पाँच किलोमिटर सडक बेनी नगरपालिका र प्रदेश सरकारले यसअघिनै कालोपत्र र ढलान गरेका छन् ।
तोरीपानी देखि पात्लेखेत र झि हुदै पाखापानी तर्फ पनि स्तरोन्नतिका लागि थप बजेटको ब्यवस्थाका लागि प्रदेश सरकारमा पहल गरिएको प्रदेशसभा सदस्य भण्डारीले बताउनुभयो । थप बजेट ब्यवस्थापनका लागि कार्यालय मार्फत प्रदेश सरकारसँग पहल गरिएको उहाँले बताउनुभयो ।
बेनी–पाखापानी–ठाडाखानी–मल्कवाङ– मराङ– बिम– दरवाङ– बेनी जोड्ने राहुघाट–म्याग्दी चक्रपथ सडक योजना अनुसार यस वर्ष बिम–मराङ– मल्कवाङ खण्डमा स्तरोन्नतिका लागि प्रदेश सरकारबाट रु. पाँच करोडको बहुबर्षीय ठेक्का आव्हानको तयारी भएको छ ।

