म्याग्दीमा एमालेका हरिकृष्ण श्रेष्ठको जित निकाल्ने दोस्रो प्रयास

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

सन्तोष गौतम
बेनी, । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेकपा एमालेका तर्फबाट उमेद्वार बनेका हरिकृष्ण श्रेष्ठ जित निकाल्ने दोस्रो प्रयासमा हुनुहुन्छ ।

वि.स. २०७९ मा माओवादी, एकिकृत समाजवादी, जनमोर्चा सहितका दलहरुको सर्मथन पाएका नेपाली काँग्रेसका खमबहादुर गर्बुजा (खम्बिर)ले २४ हजार २१ मत ल्याएर बिजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले २० हजार एक सय ८९ मत पाउनुभएको थियो ।

यसपाली दलहरु एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिनु, गठबन्धन नहुनु र बलियो संगठनले श्रेष्ठको जितको लागि सहज देखिएपनि फेरिएको राजनीतिक परिवेश, प्रतिस्पर्धी उमेद्वारका दलको रणनीति, नयाँ राजनीतिक शक्तिको उदय र अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रबिधीमन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उमेद्वार बनेका महाबिर पुन चुनौतिका रुपमा देखिएका छन् ।

Shreekrishna

वि.स. २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा एमालेका हालका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा बिजयी हुनुभएको थियो । वि.स. २०७४ को प्रतिनिधीसभा निर्वाचनमा एमालेका भुपेन्द्र थापा तत्कालीन बामगठबन्धनबाट बिजयी हुँदा प्रदेशसभाको १(क) मा माओवादीका बिनोद केसी र १ (ख) मा एमालेका नरदेवी पुन बिजयी हुनुभएको थियो ।

वि.स. २०७९ मा प्रतिनिधीसभामा नेपाली काँग्रेस, माओवादी, एकिकृत समाजवादी सहितका राजनीतिक दलहरुको गठबन्धनबाट तेस्रो पटक उमेद्वार बनेका काँग्रेसका गर्बुजा बिजयी हुनुभएको थियो । प्रदेशसभाको १(क) र (ख) मा गठबन्धनबाट माओवादीका हरि भण्डारी र रेशम जुग्जाली (सुविन) निर्वाचित हुनुभएको थियो ।

वि.स. २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा माओवादीका गोविन्द पौडेल, २०५६ को संसदिय चुनावमा नेपाली काँग्रेसका नारायणसिंह पुन र त्यसअघि एमालेकै निल पुन प्रतिनिधीसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

को हुन हरिकृष्ण श्रेष्ठ ?

बेनी नगरपालिका–७ निवासी श्रेष्ठ साविक अर्थुंगे गाविसका पूर्वअध्यक्ष तथा एमालेका केन्द्रीय सदस्य हुन । यसअघि एमालेको गण्डकी प्रदेश सचिवालय सदस्य रहेका श्रेष्ठले म्याग्दीमा दुई कार्यकाल एमालेको जिल्ला अध्यक्षको रुपमा नेतृत्व गरेका थिए ।

स्वच्छ छवी र शालिन व्यक्तित्वको पहिचान बनाएका श्रेष्ठसँग रेडक्रस सोसाइटी, बेनी खानेपानी उपभोक्ता संस्था लगायतको नेतृत्व गरेको अनुभव छ । ६० वर्षीय श्रेष्ठ वि.स. २०३६ देखि हालसम्म नेकपा एमालेको विभिन्न पदमा रहेर राजनीतिमा निरन्तर क्रियाशिल छन् ।

प्रविणता प्रमाणपत्र तहसम्मको शैक्षिक योग्यता हाँसिल गरेका श्रेष्ठ लेखापालको स्थायी जागिर छाडेर राजनीतिमा होमिएका हुन् । प्रकाश माविको व्यवस्थापन समितिको अध्यक्ष रहेका श्रेष्ठ बेनीको होटल डलफिन र न्यु वेष्ट पोइन्टको सञ्चालन पनि हुनुहुन्छ ।

एमाले नेताको दावी
एमाले म्याग्दीका अध्यक्ष तथा निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण सुवेदी सांगठनिक आधार, बिवादरहित स्वच्छ छवी, जिल्लाको सामाजिक, राजनीतिक क्षेत्रमा निरन्तर क्रियाशिल र परिचित अनुहार हुनुनै श्रेष्ठको जितको मुख्य आधार भएको बताउनुहुन्छ ।

‘अघिल्लो चुनावमा एमाले विरुद्ध मोर्चाबन्दी गरेका काँग्रेस र नेकपा यसपाली एक्लाएक्लै प्रतिस्पर्धामा हुनु, सांगठनिक आधार, प्रतिवद्ध र सक्रीय कार्यकर्ता, समानुपातिक मतमा बलियो भएकाले राजनीतिक रुपमा हामीलाई सहज छ,’ सुवेदीले भन्नुभयो ‘राष्ट्रियताको पक्षमा पार्टीले लिएको नीति र जिल्लाको समग्र विकासको जग बसाएको आधारमा म्याग्दीमा एमालेको जित हुन्छ ।’

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

२०७९ को प्रतिनिधीसभा निर्वाचनमा एमालेले १८ हजार दुई सय ७३, नेपाली काँग्रेसले १३ हजार ६९३, नेकपा (माओवादी केन्द्र)ले नौ हजार ७०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन हजार पाँच सय ७९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक हजार दुई सय ५३ र नेकपा एकिकृत समाजवादीले दुई सय ८५ मत पाएका थिए ।

वि.स. २०६४ र ५६ को संसदिय निर्वाचनमा पराजित भएका एमालेका उमेद्वारले १४ हजार देखि १५ हजारको अनुपातमा मत पाएका थिए । गत स्थानीय तह निर्वाचनमा बेनी नगरपालिकाको प्रमुख, अन्नपूर्ण, मंगला र मालिका गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सहित एमालेले २२ वटा वडामा जितेको थियो ।

नेपाली काँग्रेसले धवलागिरीको अध्यक्ष, रघुगंगाको अध्यक्ष र उपाध्यक्ष सहित १७ अध्यक्ष, नेकपा माओवादी केन्द्रले बेनीमा उपमेयर, धवलागिरीमा उपाध्यक्ष सहित छ वटा वडा अध्यक्ष जितेको थियो । श्रेष्ठ बाहेक अन्य सबै उमेद्वार पहिलो पटक संसदीय चुनावको प्रतिस्पर्धामा उत्रिएका हुन् ।

चुनौति
राष्ट्रिय राजनीतिमा सिर्जना भएको नयाँ परिवेश, नयाँ राजनीतिक शक्तिहरुको उदय, प्रतिस्पर्धी उमेद्वारको प्रभाव तथा सम्बद्ध राजनीतिक दलहरुको रणनीति र शिक्षा विज्ञान तथा प्रबिधीमन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उमेद्वार बनेका डा. महाबिर पुन म्याग्दीमा एमालेका उमेद्वारको जितका लागि चुनौति देखिएको छ ।

डा. महाविरको जन्मथलो अन्नपूर्ण गाउँपालिका–८ नागी र अन्नपूर्ण गाउँपालिकालाई एमालेले आफ्नो आधार दावी गर्दै आएको थियो । दश हजार जना भन्दा बढी मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा जातीय र व्यक्तिगत प्रभावका कारण महाविरले तान्ने मत, अन्य ठाउँमा महाविरलाई भएको स्वागत सत्कारले एमालेसँगै काँग्रेस र नेकपाका नेताहरु झस्कीएका छन् । उमेद्वारहरुलाई दवाव सिर्जना भएको छ ।

एमाले म्याग्दीका अध्यक्ष सुवेदी महाविरले सबै दलका मतदातालाई प्रभावित बनाउने भएकाले आफूहरुलाई सहजनै हुने दावी गर्नुभएको छ ।
उमेद्वारका मुद्दा
एमालेका उमेद्वार श्रेष्ठले राष्ट्रियता, संविधान र ब्यवस्थाको पक्षमा पार्टीले लिएको नीतिका साथै जिल्लाको विकास निर्माण, शुसासन र आर्थिक, सामाजिक मुद्दालाई अघि सार्नुभएको छ । केही दिनमा प्रतिवद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेका श्रेष्ठले म्याग्दीको पूर्वाधार विकासमा एमालेका जनप्रतिनिधीहरुले बसाएको आधारमा टेकेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

‘म्याग्दीको सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, कृषि, पशुपालनको क्षेत्रमा तत्कालीन जिविसले सुरु गरेका योजना तथा कार्यक्रमलाई आधार मानेर अहिलेपनि काम भइरहेका छन,’ उहाँले भन्नुभयो ‘अधुरा र आवश्यक थप काम गर्न संघीय सरकारसँग पैरवी गर्ने मेरो प्रमुख दायित्व हुनेछ् ।’
यस्ता छन प्रतिस्पर्धी

काँग्रेसले जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (के.बी.) र नेपाली कम्युनिष्ट पार्टीले विशेष प्रदेश सचिवालय सदस्य अर्जुन थापालाई उमेद्वार बनाएको छ ।

श्रेष्ठलाई राजनीतिक दलसँगै अन्तरिम सरकारको शिक्षा, विज्ञान, तथा प्रबिधीमन्त्रिबाट राजीनामा दिएर पुख्यौली थलो म्याग्दीमा स्वतन्त्र उमेद्वार बनेका महाबिर पुनको पनि सामना गर्नुपर्ने चुनौति छ । महाबिरलाई रास्वपाका उमेद्वार युवराज रोकाले सर्मथन गरेका छन् ।

नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपा (माओवादी)ले दन्द्धकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पुर्व स्ववीयु सभापति क्षेत्रबहादुर घिमिरे (धु्रब) लाई उमेद्वार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनका भिमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उमेद्वार बनेका छन् ।

प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र रहेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...