
काठमाडौ, ः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङको समग्र विकासको जिम्मा आफूले लिने घोषणा गर्नुभएको छ ।
काठमाडौमा बुधबार आयोजित नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङ ‘टाइगर’ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले उम्मेदवार गुरुङलाई जिताएर पठाए केन्द्रबाट गर्नुपर्ने सबै कामको जिम्मेवारी आफूले लिने प्रतिबद्धता जनाउनुभयो ।
दाहालले मुस्ताङको भूगोल र यहाँको आवश्यकता आफूले नजिकबाट बुझेको भन्दै मतदातालाई आश्वस्त पार्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईंहरूले ङुटुङलाई जिताएर पठाउनुहोस, उहाँलाई के बनाउनुपर्छ र यहाँको विकासमा के सहयोग गर्नुपर्छ, माथि हेडक्वार्टरबाट गर्नुपर्ने कामको जिम्मा मेरो रहनेछ ।’


उहाँले मुस्ताङमा सडक सञ्जाल विस्तार, अलपत्र परेका पुलहरूको निर्माण, कृषिको आधुनिकीकरण र मुस्ताङी स्याउको बजारीकरणमा आफ्नो विशेष ध्यान रहने बताउनुभयो । सम्बोधनका क्रममा दाहालले कोरला नाकामा भौतिक पूर्वाधार निर्माण र सडक स्तरोन्नति आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।
आफू चीन भ्रमणमा रहँदा र प्रधानमन्त्रीको हैसियतमा काम गर्दा कोरला नाका सञ्चालनबारे चिनियाँ नेतृत्वसँग गम्भीर समझदारी गरेको दाबी गर्दै उहाँले भन्नुभयो, ‘कोरला नाका जोड्ने बाटो र त्यहाँको पूर्वाधार निर्माणमा मेरो विशेष पहल हुनेछ ।’

दाहालले मुस्ताङको राजनीतिमा सधैँ तल्लो भेग र थकाली समुदायको वर्चस्व रहने गरेको भन्दै यसपटक माथिल्लो भेग (भोटे÷गुरुङ समुदाय) लाई अवसर दिइएको बताउनुभयो । ‘सधैँ एउटै भेगबाट मात्र प्रतिनिधित्व हुने परम्परा तोड्दै हामीले माथिल्लो भेगका जनताको प्रतिनिधिलाई अघि सारेका छौँ,’ दाहालले भन्नुभयो , ‘म थकाली समुदायका साथीहरू (गौचन, शेरचन) लाई पनि आग्रह गर्छु, यसपटक माथिल्लो भेगको प्रतिनिधिलाई भोट दिएर जिताउनुस, विकासको जिम्मा म लिन्छु ।’
उहाँले मुस्ताङ युरेनियम जस्तो बहुमूल्य खनिजको सम्भावना बोकेको जिल्ला भएकाले यसको सुरक्षा र विकासमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । साथै, उनले आगामी फागुन २१ गते हुने निर्वाचन तोकिएकै समयमा सम्पन्न हुने ठोकुवा समेत गर्नुभयो ।
उमेद्वार गुरुङले समग्र मुस्ताङको विकास, संसदमा मुस्ताङबासीको आवाज उठाउन, भूगोल अनुकुलको नीति निर्माणका लागि आफुले जोड दिने बताउनुभयो । पूर्वाधारको जगमा टेकेर कृषि, पशुपालन, पर्यटन र ब्यापार ब्यवसाय मार्फत मुस्ताङलाई थप विकसित र सम्बृद्ध बनाउन सकिने उमेद्वार गुरुङले बताउनुभएको छ ।

