
बेनी । पर्वतको जलजला गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ ।
विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन ‘हाम्रो जलजला’ पुस्तक तयार पारिएको हो ।
पुस्तकको आइतबार लामाखेतमा आयोजित कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम लगायतले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।
कक्षा १ देखि ८ सम्मको स्थानीय पुस्तक तयार भएको गाउँपालिकाका शिक्षा अधिकृत टंकनाथ पौडेलले जानकारी दिनुभयो । कक्षा देखि ३ का पाठ्यपुस्तक चालु शैक्षिक सत्रको सुरुवात, कक्षा ४ र ५ को असोज महिनामा र कक्षा ६–८ को पुस्तक मंसिर महिनामा विद्यार्थीलाई वितरण गरेर पठनपाठन गराउन थालिएको थियो ।

वि.स. २०७९ मा कक्षा १–८ तहको पाठ्यक्र तयार गरेको जलजला गाउँपालिकाले गत वर्ष शिक्षकहरुको सहयोगमा पुस्तकमा समेट्ने सन्दर्भ सामग्री संकलन गरेको थियो । पाँच देखि आठ जना शिक्षकहरुको १३ वटा समूह बनाएर संकलन गरिएको फरक÷फरक विषयसँग सम्बन्धीत स्रोत सामग्रीको आधारमा पुस्तक तयार पारिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।


पालिकाका नौ वटै वडालाई समेटेर ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पुशपालन र अन्य विविधि विषयहरूलाई पुस्तकमा समावेश गरिएको छ । स्थानीय विषयबस्तुमा आधारित तस्वीर पनि समेटिएका छन ।
उनले विद्यार्थीमा आफ्नो क्षेत्रका बारेमा ज्ञान आर्जन गर्ने तथा अपनत्व हुनेगरी स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी स्थानीय पाठ्यक्रम तयार पारिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।
पुस्तक बिमोचनका साथै नतिजा विश्लेषण, विद्यार्थी र शिक्षकहरुलाई सम्मान गरिएको थियो । गाउँपालिकाले सञ्चालन गरेको वार्षिक परीक्षा २०८१ को पुरस्कार वितरण, प्रथम तथा दोस्रो त्रैमासिक परीक्षाको नतिजा विश्लेषण तथा एसईई परीक्षा २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, विद्यालय र विषय शिक्षकहरूलाई सम्मान गरिएको थियो।
त्यसैगरी, वार्षिक परीक्षामा कक्षा १ देखि ९ सम्म पालिकाभरका उत्कृष्ट प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मोतिलाल चपाईंले जलजला गाउँपालिकाले शिक्षाक्षेत्रमा गरेको लगानीलाई परिणाममुखी बनाउन शिक्षकहरू प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
स्थानीय पाठ्यपुस्तकको सन्दर्भमा टिप्पणी गर्दै शिक्षाका लागि सामाजिक अभियान नेपाल का प्रतिनिधि गोविन्द पहारीले जलजला गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागू गरी तयार गरेको पाठ्यपुस्तकले स्थानीय ज्ञान, सीप, पर्यटन, धार्मिक तथा सांस्कृतिक पक्षलाई समेटेको उल्लेख गर्दै यसलाई उत्कृष्ट प्रयासको रूपमा प्रशंसा गर्नुभयो। उहाँले पाठ्यपुस्तकमा केही प्राविधिक त्रुटि भए पनि सुधार गर्दै शिक्षकहरूले सहजीकरण गर्नुपर्ने सुझाव दिनुभयो ।
शिक्षा अधिकृत टंकनाथ पौडेलले वार्षिक परीक्षा तथा त्रैमासिक परीक्षाको पालिकाभरिका विद्यालयहरूको नतिजा विश्लेषणात्मक रूपमा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पेशागत संघ–संगठनका प्रतिनिधि, पाठ्यपुस्तक प्रकाशन मण्डलका संयोजक कृष्णप्रसाद रेग्मी तथा जलजला गाउँकार्यपालिका सदस्य भीमसेनबहादुर बराइलीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पुस्तक प्रकाशन मण्डल, एसईई २०८२ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालय, शिक्षक तथा विद्यार्थी, विषयगत रूपमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षक, तल्लो दरबन्दीमा रहेर पनि माथिल्लो कक्षामा अध्यापन गरी विद्यालयको शैक्षिक गुणस्तरमा योगदान पु¥याउने शिक्षकहरूलाई सम्मान गरिएको थियो।
त्यसैगरी, सेवा निवृत्त तथा लामो समयसम्म शिक्षण सेवामा योगदान पु¥याएका शिक्षकहरूलाई दीर्घ सेवा सम्मान (दोसल्ला र सम्मानपत्र) प्रदान गरिएको थियो।
वर्ष २०८२ मा संस्थागत तर्फ मल्लाजस्थित अमृत आदर्श प्याराडाइज एकेडेमी र सामुदायिक तर्फ नाग्लीबाङस्थित जनकल्याण माध्यमिक विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन।
त्यस्तै, ग्राम प्रकाश माध्यमिक विद्यालय, विद्याज्योति माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालय औसत अंकका आधारमा जिल्लास्तरीय रूपमा समेत सम्मानित भएका छन् । कार्यक्रम शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख देवी शर्मा रिजालको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए ।

