
मुना। म्याग्दीको धवलागिरी गाउँपालिकालाई सडक बालबालिका मुक्त घोषणा गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा आइतबार मुनामा बसेको कार्यपालिका बैठकले धवलागिरीलाई सडक बालबालिका मुक्त स्थानीय तह घोषणा गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय बालअधिकार परिषद्को पत्र अनुसार गाउँपालिकाले गत भदौ १९ गते सात वटै वडा कार्यालयहरुलाई सडक बालबालिकाहरुको विवरण माग गरेको थियो । सबै वडा कार्यालयहरुले आफ्नो क्षेत्रमा सडक बालबालिका नभएको प्रमाणित सहित गाउँपालिकालाई पत्राचार गरेका थिए ।

सात वटै वडाहरुमा सडक बालबालिकाहरु नभएको जानकारी प्राप्त भएकाले सडक बालबालिकामुक्त स्थानीय तह घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले बताउनुभयो ।

