
बेनी ः आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीका उमेद्वारहरु भोट माग्न र मतदाता भेटघाटका लागि प्रदेश राजधानी पोखरा पुग्न थालेका छन् ।
नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठले शनिबार र नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले शुक्रबार पोखरामा पुगेर मतदातासँग भेटघाट गर्नुभयो । नेपाली काँग्रेसका उमेद्वार कर्णबहादुर भण्डारी (के.बी.) र स्वतन्त्र उमेद्वार डा. महाविर पुन पनि मतदाता भेटघाटका लागि समय मिलाएर पोखरा जाने तयारीमा हुनुहुन्छ ।
एमाले र नेपाली कम्युनिष्ट पार्टी सम्बद्ध म्याग्दी–पोखरा सम्पर्क समाजले उमेद्वारसँग पोखरामा बसोबास गर्ने म्याग्देलीहरुसँग भेटघाट कार्यक्रम आयोजना गरेका हुन् । गाउँमा मतदाता नामावली भएका तर शिक्षा, ब्यापार ब्यवसाय र अन्य कामको शिलशिलामा स्थायी रुपमा पोखरामा बसोबास गर्ने म्याग्देलीहरुलाई भेटेर उनिहरुका सुझाव, अपेक्षा, गुनासा सुन्न पोखरा पुगेको एमालेका श्रेष्ठ र नेकपाका थापाले बताउनुभयो ।

वि.स. २०७९ सम्मको निर्वाचनमा चुनाव प्रचार जिल्लाभित्र सिमित थियो । यसपाली चिसोका कारण लेकाली क्षेत्रका मतदाताहरु पनि बजार तथा बेशीमा झरेका, अध्ययन, ब्यापार, ब्यवसायको शिलशिलामा बजारमा अस्थायी बसोबास गर्ने मतदाताहरुलाई पनि उमेद्वारहरुले महत्व दिएका हुन् ।
बजारबाट मतदानका लागि गाउँमा पुग्नेमतदाताहरुले निर्वाचन परिणाम प्रभावित पार्ने आँकलन र विष्लेषण गरेर उमेद्वार तथा राजनीतिक दलहरु उनिहरुसम्म पुग्न थालेका हुन् । जसका लागि राजनीतिक दलहरुले आफ्नो कमिटि बनाएका छन । उमेद्वारहरुले आफन्त र साथीहरुलाई परिचालन गरेका छन् ।

म्याग्दीको छिमेकी जिल्ला मुस्ताङका उमेद्वारहरु पनि मनोनयन दर्ता गरेपछि प्रदेश राजधानी पोखरा झरेका छन् । चिसोका कारण मुस्ताङका अधिकांश मतदाताहरु पोखरा, काठमाडौ, चितवन र बुटवलमा पुगेका छन् ।

नेपाली काँग्रेसका योगश गौचन थकाली, नेकपा एमालेका इन्द्रधारा बिष्ट, नेपाली कम्युनिष्ट पार्टीका ङुटुक गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका अदितिय चन्द्र थकाली पनि पोखरा, काठमाडौ, बुटवलमा मतदाता भेटघाटमा व्यक्त हुनु भएको छ ।
अवसर र सुविधाका लागि बजारमा झरेका मतदाताहरुले उमेद्वारहरुसँग गाउँमा फर्किने वातावरण बनाउन आग्रह गरेका छन् । हाल पोखरामा अस्थायी बसोबास गर्नुहुने धवलागिरी गाउँपालिका–७ धारापानीका झलक थापाले गाउँमा आयआर्जन, रोजगारीको अवसर, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुविधाको ब्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
पोखरामा बसोबास गर्ने धवलागिरी गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालले राजनीतिक भन्दा पनि विकासका मुद्दा आफूहरुको चासो भएको बताउनुभयो । “म्याग्दीको ४५ मध्य अझ सम्म सडक सुविधा नपुगेको हाम्रो गुर्जा गाउँ मात्र हो,” उहाँले भन्नुभयो “गाउँमा सहज यातायातको सुबिधा भएमा आवत जावतमा मात्र नभएर कृषि उपज र जडिबुटीको बजारीकरण हुने थियो ।”
प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र रहेका छन् । मनोनयन दर्तासँगै उमेद्वारहरुले मतदाता भेटघाट र कार्यकर्ता परिचालनमा जोड दिएका छन् ।
नेपाली काँग्रेस, एमाले, नेकपा र स्वतन्त्र उमेद्वार मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् । स्वतन्त्र उमेद्वार पुनलाई रास्वपाका उमेद्वार युवराज रोकाले सर्मथन गरेका छन् । नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपा (माओवादी)ले दन्द्धकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पुर्व स्ववीयु सभापति क्षेत्रबहादुर घिमिरे (धु्रब) लाई उमेद्वार बनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनका भिमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उमेद्वार बन्नुभएको छ ।
उमेद्वारहरुले नीति निर्माण तहमा म्याग्दीको आवाज उठाउने, कानुनमा जिल्लाबासीको भावना तथा समस्यालाई सम्बोधन गर्ने, सरकारका योजना तथा बजेटमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने, पर्यटन र कृषि मार्फत रोजगारी सिर्जना तथा जलविद्युतमा लगानीको वातावरण बनाउने मुद्दालाई जोड दिएका छन् ।

