
बेनी । म्याग्दीको बेनी नगरपालिका–४ डामडाँडामा ब्याडमिन्टन कबर्डहल निर्माण भएको छ ।
वडा कार्यालय, समुदाय र प्रवासीको रु. २० लाख बढी लगानीमा ब्याडमिन्टन कवर्डहल निर्माण भएको हो । नवनिर्मित कवर्डहलको शनिवार बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो ।
उपप्रमुख लामिछानेले पछिल्लो समय लोकप्रिय खेलको रुपमा विकास हुन थालेको ब्याडमिन्टन खेल अभ्यास तथा प्रतियोगिता सञ्चालनको लागि कवर्डहलले सहयोग पुग्ने बताउनुभयो । उहाँले सरकारी बजेटमा दोब्बर सहयोग र श्रमदान जुटाएर खेलकुद पूर्वाधार निर्माण गरी स्थानीयबासीले उदाहरणीय कार्य गरेको समेत बताउनुभयो ।
आर्थिक बर्ष २०७९÷८० देखि निर्माण सुरु भएको कवर्डहल निर्माण कार्यले पूर्णता पाएसंगै ब्याडमिन्टन खेलाडीहरु उत्साहित बनेका छन् । कवर्डहलको पूर्वाधार निर्माण गर्न दुई बर्षमा गरी वडा कार्यालयबाट रु. सात लाख बजेट विनियोजन भएको थियो ।
स्थानीयबासीले देउसी भैलोबाट रु. दुई लाख एक हजार ३० र प्रवासमा रहेका स्थानीयबासीबाट रु. ११ लाख ६२ हजार आठ सय दुई थप सहयोग गरी कुल २० लाख ६४ हजार ११० खर्च भएको कवर्डहल निर्माण अभियानका संयोजक सुमन गुरुङले जानकारी दिनुभयो ।


एउटा मात्रै कोर्डमा खेल खेल्ने पूर्वाधार सहित करिब एक सय ५० जना दर्शकले खेल अवलोकन गर्न मिल्ने गरी पूर्वाधार निर्माण गरिएको छ । वडाभित्रका हरेक बस्तीमा खेलमैदान र खेलपूर्वाधार निर्माण गर्ने अभियान अन्तर्गत वडा र समुदायको साझेदारीमा कवर्डहल निर्माण भएको बेनी नगरपालिका– ४ का वडा अध्यक्ष अणबहादुर खड्का(भगवान)ले जानकारी दिनुभयो ।
उहाँका अनुसार, डामडाँडाका साथै सिंगा र तातोपानीमा गरी तीन स्थानमा ब्याडमिन्टन कवर्डहल निर्माण भएको र पूर्वाधार बनाउन वडा मार्फत रु. ३३ लाख खर्च भएको र समुदायले समेत त्यसमा थप सहयोग र श्रमदान जुटाएर ब्याडमिन्टन कवर्डहलहरु निर्माण भएका हुन् ।
कवर्डहल उद्घाटन समारोहमा बेनी नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, वडा सदस्य सन्दिप खत्री, नेपाली कम्युनिष्ट पार्टीका तेजबहादुर बानियाँ, नेपाली काँग्रेसका सुमन बानियाँ, नेकपा एमालेका तुलप्रसाद श्रेष्ठ, बालमखोला सिंचाई उपभोक्ता समितिका अध्यक्ष भिम गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो ।

थामडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवबहादुर घलेको अध्यक्षता, समुन गुरुङको स्वागत र भृकुटी आधारभूत विद्यालयका निवर्तमान प्रअ शेरबहादुर गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबिच नवनिर्मित कवर्डहलमा म्याग्दी जिल्ला स्तरीय सि र डि लेभल तथा जनप्रतिनिधिहरुको ब्याडमिन्टल प्रतियोगिता समेत सञ्चालन गरिएको छ ।

