
बेनी ः आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीका आठ मतदान स्थललाई अति संवेदनशिल सूचीमा राखिएको छ ।

जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदान स्थल मध्य २९ वटालाई संवेदनशिल र ४५ स्थललाई सामान्य बर्गमा विभाजन गरेर निर्वाचन सुरक्षा रणनीति बनाएको हो ।
प्रतिनिधीसभामा एक, प्रदेशसभामा दुई, छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ८२ वटा मतदान स्थलमा एक सय २० मतदान केन्द्र कायम भएको छ ।
विगतका निर्वाचनमा भएका गतिबिधी, भौगोलिक अवस्थिति, यातायात, सञ्चार र अन्य पूर्वाधार लगायतका आधारमा मतदान स्थलहरुलाई बर्गीकरण गरेर सुरक्षा रणनीति बनाइएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिनुभयो ।
धवलागिरी गाउँपालिका–१ गुर्जा र ४ बगर, अन्नपूर्ण गाउँपालिका–८ नांगी, रघुगंगा गाउँपालिका–८ कुइनेखानीका मतदान स्थलहरु भौगोलिक हिसाबले दुर्गम र विकट क्षेत्रमा रहेका छन् ।
मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापा, प्रजिअ आचार्य सहित सुरक्षा अधिकारीहरुको टोलीले मतदान स्थलको निरिक्षण कार्यलाई अन्तिम चरणमा पु¥याएको छ ।
फागुन २१ गतेको निर्वाचनका लागि ४२ हजार तीन सय ३२ पुरुष र ४४ हजार ६४ जना महिला र एक जना अन्य गरी कुल ८६ हजार तीन सय ९७ जना मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
म्याग्दीमा एक स्वतन्त्र र ११ जना राजनीतिक दलका उमेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उमेद्वार महाविर पुन मुख्य प्रतिस्पर्धीका रुपमा रहनुभएको बताइएको छ ।

