
बेनी। आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका म्याग्दीका उमेद्वारहरु चुनाव चिन्ह प्राप्त गरेपछि गाउँ पसेका छन् ।
राजनीतिक दल र स्वतन्त्र उमेद्वारहरुले मतदाता समक्ष पुग्न र कार्यकर्ता परिचालनका लागि विगतको भन्दा फरक रणनीति बनाएका छन् । विगतका चुनावमा उमेद्वारहरुले सभा गरेर आफ्ना बिचार र योजना सार्वजनिक गर्ने चलन थियो ।
यसपालीको चुनावमा प्रचार शैली फेरिएको छ । उमेद्वारहरुले कार्यकर्ता परिचालन, मतदाता भेटघाट र सामाजिक सञ्जालको प्रयोग गरेर जनमतलाई आफ्नो पक्षमा पार्ने प्रयासमा जुटेका हुन् । सूचना प्रबिधीको विकास, बढ्दो सामाजिक सञ्जालको प्रयोगका कारण उमेद्वारहरुले फेसबुक, टिकटक मार्फत पोष्टर, योजना र बिचारहरु सार्वजनिक गरेका छन् ।

विदेशमा भएका र युवापुस्ताका मतदाताका लागि सामाजिक सञ्जालको सामग्री तयार पारेर सार्वजनिक गरिरहेका छन् । प्रबिधीको पहुँचमा नभएका पाका उमेरका मतदातालाई घरदैलो र टोलमा भेला पारेर भेटघाट गर्न थालेका हुन् ।

स्वतन्त्र उमेद्वार बन्नुभएका निवर्तमान शिक्षा, विज्ञान तथा प्रबिधीमन्त्रि महाविर पुनले शनिबार बेनीको बिरेन्द्र चोकमा पत्रकार सम्मेलन गरेर आफ्ना योजना सार्वजनिक गर्नुभयो । अन्य दल र उमेद्वारहरुले प्रतिवद्धतापत्र तयार पार्नका लागि सामाजिक सञ्जाल मार्फत सुझाव मागेका छन् ।
नेपाली काँग्रेसका उमेद्वार कर्णबहादुर भण्डारी (के.बी) निवर्तमान प्रतिनिधीसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) सहितका नेताहरुलाई साथमा लिएर रघुगङ्गा गाउँपालिकामा कार्यकर्ता र मतदाता घेटघाटमा निस्कनुभएको छ । काँग्रेसका नेता कार्यकर्ताहरुले भेला र भेटघाट भएको तस्विरहरु सामाजिक सञ्जालमा राखेपनि स्थान नखुलाउनुले उनिहरुले हल्ला नगरी मतदातामाझ पुग्ने रणनीतिमा रहेको संकेत गर्छ ।
उमेद्वार भण्डारीको काम र पोष्टरहरु सार्वजनिक गरेका काँग्रेसका कार्यकर्ताहरु उमेद्वारलाई मतदातामाझ चिनाउन केन्द्रित भएका छन् । नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठले रघुगंगा गाउँपालिका–२ भगवतिमा घरदैलो तथा टोल भेला गरेर आइतबार मतदाता र कार्यकर्ता भेटघाट गर्नुभएको छ ।
काँग्रेसका उमेद्वार भण्डारीको वडा भगवति जानुअघि श्रेष्ठले एमालेले आफ्नो आधार क्षेत्र मानेको अन्नपूर्णमा पुग्नुभएको थियो । अन्नपूर्ण गाउँपालिका–८ राम्चे स्वतन्त्र उमेद्वार महाविर पुनको वडा हो । भगवति, पिप्ले, राम्चे, नागी र दोवामा भेटघाट गरेका नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाको टोली आइतबार अन्नपूर्ण गाउँपालिकामै जनभेटघाट गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार युवराज रोकाको सर्मथन पाएका स्वतन्त्र उमेद्वार महाविर पुन आइतबार बेनीको कालीपुल स्थित कालीगण्डकीमा माछा मार्न बल्छि खेलेर अन्नपूर्ण गाउँपालिकातिर लाग्नुभएको छ । अन्य उमेद्वारहरुले पनि चुनाव प्रचारको तयारीमा रहेको जनाएका छन् ।
१३ जनाको मनोनयन दर्ता भएकोमा एक जना स्वतन्त्र र १२ जना राजनीतिक दलको उमेद्वारी कायम रहेको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले बताउनुभयो । प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र कायम रहेका छन् ।

