
बेनी,। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु विरुद्ध उजुरी परेको छैन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार मनोनयन दर्ता गराएका सबै उम्मेदवार योग्य भएपछि अब मनोनयन दर्ता फिर्तापछि मतपत्र छापिने भएको छ ।
एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको म्याग्दीमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गरेका उम्मेदवार विरुद्ध उजुरी दिने समय तालिका तोकिएको थियो ।
सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले उम्मेदवार विरुद्ध उजुरी नपरेपछि ११ राजनीतिक दलका तथा दुई स्वतन्त्र उम्मेदवारको नामावली प्रकाशन गरिएको जानकारी दिनुभयो ।
“शुक्रबार १० देखि एक बजेसम्म उमेद्वारी फिर्ता लिने समय छ,” उहाँले भन्नुभयो “मनोनयन फिर्ता लिने समयपछि उमेद्वारहरुको अन्तिम नामावली कायम र चुनाव चिन्ह प्रदान हुन्छ ।”
नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोका र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदीको मनोनयन दर्ता भएको छ ।

नेकपा (माओवादी)का क्षेत्रबहादुर घिमिरे (धु्रब), प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनका भिमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजाको उमेद्वारी दर्ता भएको छ ।
अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रबिधी मन्त्रीबाट राजीनामा दिनुभएका डा. महाविर पुन र बेनीका नविन जिसीले स्वतन्त्र उमेद्वारी दर्ता गराउनुभएको छ । प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र कायम रहेका छन् ।

