
बेनी, ः म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको छ ।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र जलजला गाउँपालिकाको कार्यालयबीच कार्यक्रम अन्तरर्गत बाँसखर्कको सुन्तला बगैचामा ‘पम्पीङ’ प्रणाली मार्फत स्थायी सिंचाई कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको हो ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र मुख्यमन्त्री कार्यालयका सचिव कृष्णप्रसाद लम्सालबीच मंगलबार पोखरामा कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता भएको छ । चालु आर्थिक वर्षभित्रनै सम्पन्न गर्नुपर्ने रु. एक करोड लागत अनुमान गरिएको कार्यक्रमका लागि प्रदेश सरकारले रु. ७५ लाख र गाउँपालिकाले रु. २५ लाख लगानी गर्ने भएका छन् ।

“गण्डकी प्रदेशमै सबैभन्दा बढी सुन्तला खेती हुने बाँसखर्कमा सिंचाई समस्याको दिर्घकालिन समाधानका लागि गाउँपालिकाले प्रदेश सरकारसँग प्रस्ताव गरेको कार्यक्रम छनौट भएपछि कार्यान्वयनका लागि सम्झौता गरिएको हो,” उहाँले भन्नुभयो “बाँसखर्क भएर मल्लाजमा पानी लैजाने सिंचाई योजनाको नहर भन्दा माथिको बगैचामा पम्पिङ र तलमाथी दुबैतिर हरेक चार सय देखि पाँच सय बोटका लागि दश हजार लिटर क्षमताको टंकी बनाएर स्थायी किसिमले सिंचाईको ब्यवस्था मिलाउने योजना रहेको छ ।”
समुन्द्र सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटर उचाईमा रहेको बाँसखर्कका दुई सय ३९ मध्य दुई सय घरपरिवारले सुन्तला खेती गरेका छन । एक वटा परिवारले वार्षिक कम्तीमा रू पाँच लाखको सुन्तला बेच्छन ।
बाँसखर्कको एक हजार पाँच सय रोपनी जग्गामा सुन्तला खेती भएको वडा अध्यक्ष जगबहादुर रोकाले बताउनुभयो । यसवर्ष रु. २० करोड मूल्य बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।
बाँसखर्कमा ५१ हजार एक सय ५१ सुन्तलाका बोट छन् । चौबीस हजार चार सय ४५ बोट सुन्तलाका बोटमा फल लाग्न बाँकी छ । देशका अन्य ठाउँको बगैचा रित्तिएपछि व्यापारीहरूले बाँसखर्कको सुन्तला किनेर लैजान्छन् ।
पोखरा, काठमाडौं र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न आउँछन । बेनीदेखि बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिचाइँको नियमित र व्यवस्थित सुविधाका लागि जोड दिएको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।
गत वर्ष गाउँपालिकाले बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरेको थियो । यस वर्ष प्रदेश सरकारबाट बिनियोजन भएको रु. एक करोड बजेटबाट बगरफाँट बाँसखर्क जोड्ने सडक स्तरोन्नति योजना सञ्चालन भएको छ । सहरी विकास मन्त्रालय र गाउँपालिकाले पनि सडक स्तरोन्तरोन्नतिका लागि छुट्टा छुट्टै योजना सञ्चालन गरेका छन् ।

