
बेनी ः म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति शुरु भएको छ ।
पूर्वाधार विकास कार्यालय, म्याग्दीले रुम देखि ताराखोलातर्फ सडक स्तरोन्नतिको काम थालेको हो । २०८२ असार ४ गते रु. दुई करोड ११ लाख ३० हजारमा ठेक्का सम्झौता गरेको सोमरस निर्माण सेवाले सडक फराकिलो पार्ने, नाली र पर्खाल निर्माणको काम थालेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाका अनुसार योजनाको हालसम्म १० प्रतिशत भौतिक प्रगति भएको छ । ठेक्काको अवधी १८ महिनाको रहेको छ । आयोजना मार्फत रुम खण्डमा करिब एक किलोमिटर सडक फराकिलो पार्ने, नाली, टेवा पर्खाल निर्माण, ढलान र कालोपत्र गरिने भएको छ । रुम म्याग्दीको धेरै जनसंख्या भएको वडा हो ।



म्याग्दीको मालिका, धवलागिरी र मंगला गाउँपालिकाका बासिन्दालाई बाग्लुङको ताराखोला र मध्यपहाडी लोकमार्गले छोएको गलकोट हुदै लुम्बीनी प्रदेशको बुटवल बजार जान आउन नजिक पर्ने भएकाले यो सडकलाई प्राथमिकता दिएको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन)ले बताउनुभयो ।
उहाँका अनुसार गलकोट देखि ताराखोलाको घुस्मेली सम्म १० किलोमिटर सडक कालोपत्रको अन्तिम चरणमा रहेको, घुस्मेली देखि करिमेला खण्डको चार किलोमिटर स्तरोन्नति र ताराखोलाको रानीबासामा मोटरेबल पुल निर्माण शुरु भएको छ ।
यसैगरी मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि अदिभारा–ताक्से–बिलबाङ हुदै रुम जोड्ने सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको मालिका गाउँपालिका–२ का वडा अध्यक्ष उदयकुमार बुढाथोकीले बताउनुभयो ।
११ वर्षअघि स्थानीयबासीले चन्दा संकलन र तत्कालिन गाविस कार्यालयको बजेटबाट खनेको सडक प्राविधिक रुपमा उपयुक्त नभएको र जोखिमयुक्त भएपछि स्तरोन्नतिको लागि आयोजना सञ्चालन भएको हो । टाक्से क्षेत्रमा नयाँ मार्ग बनाउने काम भैरहेको छ ।
अदिभारा–स्याउलीबाङ–औला–बेली–जेम हुदै रुम जोड्ने घुमाउरो सडकमा यात्रा गर्दा एक घण्टा लाग्ने गरेकोमा अदिभारा–टाक्से हुदै २० मिनेटमै रुम पुग्न सकिने वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

