
बेनी ः फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचन–२०८२ का लागि म्याग्दीमा तयारी तिब्र पारिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरु चुनावको तयारीमा जुटेका हुन् ।
जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले मतदान स्थल, मतदान केन्द्र छनौट, अन्तिम मतदाता नामावली कायम, अस्थायी मतदाता नामावली संकलन, कर्मचारी र मतदान सामग्रीको व्यवस्थापनमा जुटेको जानकारी दिनुभयो ।

प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मतदाता रहेका छन् ।
अघिल्लो चुनावको तुलनामा आगामी चुनावका लागि दुई सय ७७ जना मात्र मतदाता थपिएका हुन् । वि.स. २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार एक सय २० जना मतदाता थिए ।

८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र कायम भएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले मतदान केन्द्रहरुलाई अति संवेदनशिल, संवेदनशिल र सामान्य वर्गमा विभाजन गरिएको छ ।
१५ वटा अति संवेदनशिल, ५८ वटा संवेदनशिल र आठ वटा सामान्य मतदान स्थल रहेका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापा, प्रजिअ आचार्यलगायत सुरक्षा अधिकारीको टोलीले मतदान स्थलको अनुगमनलाई तिब्रता दिनुभएको छ ।
निर्वाचन प्रहरीमा भर्ना हुनका लागि म्याग्दीमा एक हजार छ सय १९ जनाको आवेदन परेको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो । सोमबारदेखि निर्वाचन प्रहरी छनौट प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारीका विषयमा राजनीतिक दल र सरोकारवालाहरुसँग छलफल गरेको छ । जिल्ला न्यायाधिश समेत रहेका मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जिल्लाका सबै सरोकारवालाहरुको सहयोगबाट म्याग्दीमा आगामी प्रतिनिधीसभा सदस्य निर्वाचनलाई स्वच्छ र निपष्क्ष रुपमा सफल बनाइने बताउनुभयो ।
“म्याग्दीमा सबै पक्षसँग सहकार्य गरेर चुनावलाई स्वतन्त्र र निपष्क्ष वातावरणमा सम्पन्न गराउनका लागि हामी अघी बढेका छौ,” उहाँले भन्नुभयो “सामुहिक प्रयत्नबाटनै चुनावलाई स्वच्छ र निष्पक्ष बनाउने राष्ट्रिय दायित्व पुरा हुनेछ ।”
म्याग्दीमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधीसभा सदस्यको उमेद्वार टुङ्गो लगाएका छन् । एमालेले केन्द्रिय सदस्य हरिकृष्ण श्रेष्ठ र नेकपाले युवा नेता अर्जुन थापालाई उमेद्वार बनाउने निर्णय गरेको हो ।

