
बेनी । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेकपा एमालेले हरिकृष्ण श्रेष्ठलाई उमेद्वार बनाउने भएको छ ।
एमालेको शनिबार बसेको बैठकले केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठलाई म्याग्दीबाट प्रतिनिधीसभा सदस्यको उमेद्वार बनाउने निर्णय गरेको एमाले सम्बद्ध प्रेस चौतारी नेपालका पुर्व अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।
एमालेको दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी पुरा गरेका श्रेष्ठ गत प्रतिनिधीसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका खमबहादुर गर्बुजा (खम्बिर)सँग पराजित हुनुभएको थियो । उमेद्वार चयन हुनुभएका श्रेष्ठ सदरमुकाम बेनी बजार अवस्थित साविक अर्थुङ्गे गाविसको अध्यक्ष समेत हुनुभएको थियो ।


उहाँ सरकारी लेखापालको जागिर छाडेर राजनीतिमा लाग्नुभएको हो । बेनीको होटल डलफीनका सञ्चालक रहेका श्रेष्ठ बेनीको न्यु वेष्ट पोइन्ट आवासीय मावि सञ्चालन गरेको न्यु वेष्ट पोइन्ट एजुकेशन फाउण्डेशनको पनि सञ्चालक हुनुहुन्छ ।
म्याग्दीमा सबैभन्दा पहिले एमालेले उमेद्वार टुंगो लगाएको हो । नेपाली काँग्रेसले जिल्ला सभापति खमबहादुर गर्बुजा र उपसभापति कर्णबहादुर भण्डारी (के.वी.)को नाम सिफारिस गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टीले अर्जुन थापा, कृष्णकुमार विश्वकर्मा, गमबहादुर श्रीस, टेकबहादुर बिक र दुर्गा कार्की बानियाको नाम सिफारिस गरेको छ । रास्वपाले जिल्ला सभापति युवराज रोकाको नाम एकल सिफारिस गरेको छ ।

