
बेनी ः म्याग्दीका उत्कृष्ट फसल उत्पादन गर्ने २० जना कृषकहरुलाई शनिबार बेनीमा पुरस्कृत गरिएको छ ।
बेनीमा माघे संक्रान्ति पर्वको अवसरमा कृषि विकास कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको कृषि मेला प्रर्दशनीमा पहिलो, दोस्रो, तेस्रो र सान्तवना हुने किसानहरुलाई पुरस्कृत गरिएको हो ।
काउली, अन्य तरकारी, फलफुल, जरे÷गानो र विविध समूहमा कृषकहरुले ल्याएको उपजको मूल्याङ्कन गरि पुरस्कृत गरिएको कृषि विकास कार्यालयका प्रमुख सञ्जिव बास्तोलाले जानकारी दिनुभयो ।

“व्यवसायिक कृषकहरुलाई प्रतिस्पर्धी बनाउनका लागि प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यले प्रर्दशनी आयोजना गरिएको हो,” उहाँले भन्नुभयो “५० जना भन्दा बढी कृषकहरुले आफुले उत्पादन गरेका उपज प्रर्दशनीमा ल्याएका थिए ।”

पहिलो, दोस्रो, तेस्रो र सान्तवना हुनेलाई करसहित क्रमश रु. दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय र एक हजार सहित प्रशंसापत्र वितरण गरिएको थियो । कार्यालय प्रमुख बास्तोला, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।
काउलीबालीमा अन्नपूर्ण–६ का का तेजबहादुर बरुवाल प्रथम, मंगला–२ का हरिकृष्ण अधिकारी दोस्रो, बेनपा–२ का नारायणबहादुर कार्की तृतीय र बेनपा–१ का रुद्रबहादुर थापा सान्तवना हुनुभएको छ ।
अन्य तरकारीमा बेनपा–२ का चन्द्रबहादुर कार्की प्रथम, रघुगङ्गा–३ का जीतबहादुर खत्री दोस्रो, बेनपा–६ का श्रीलाल रिजाल तृतीय र अन्नपूर्ण–६ का राम बरुवाल सान्तवना भएका कृषि विकास कार्यालयका प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले बताउनुभयो ।
फलफुलबालीतर्फ रघुगंगा–१ का बिरबहादुर तिलिजा प्रथम, मंगला–२ का श्रीकृष्ण पौडेल दोस्रो, अन्नपूर्ण–३ का दुर्गादत्त सुवेदी तेस्रो र बेनपा–१ का इश्वर केसी सान्तवना हुनुभएको छ । जरे÷गानोबाली समूहमा रघुगंगा–१ का ढकबहादुर पुन प्रथम, रघुगंगा–८ का बिमला शेरपुञ्जा मगर दोस्रो, मंगला–२ का छमलाल पौडेल तेस्रो र बेनपा–५ का आदर्श कृषि फर्म सान्तवना भएका छन् ।
विविधतर्फ बेनपा–९ का भिमबहादुर सुवेदी प्रथम, धौलागिरि–७ का ओमबहादुर थापा दोस्रो, बेनपा–४ का डिल केसी तेस्रो र बेनपा–७ का साधनाकुमारी श्रेष्ठ सान्तवना हुनुभएको छ ।

