
बेनी, फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचन–२०८२ का लागि शुक्रबार म्याग्दीको बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
बेनी स्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको कार्यालयको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले उद्घाटन गर्नुभयो । कार्यलयबाट उमेद्वारहरुको मनोनयन दर्ता लगायतका निर्वाचन सम्बन्धी कार्य सञ्चालन हुनेछ् ।
कार्यक्रममा जिल्ला न्यायाधिश समेत रहेका मुख्य निर्वाचन अधिकृत थापाले जिल्लाका सबै सरोकारवालाहरुको सहयोगबाट म्याग्दीमा आगामी प्रतिनिधीसभा सदस्य निर्वाचनलाई स्वच्छ र निपष्क्ष रुपमा सफल बनाइने बताउनुभयो ।

“म्याग्दीमा सबै पक्षसँग सहकार्य गरेर चुनावलाई स्वतन्त्र र निपष्क्ष वातावरणमा सम्पन्न गराउनका लागि हामी अघी बढेका छौ,” उहाँले भन्नुभयो “सामुहिक प्रयत्नबाटनै चुनावलाई स्वच्छ र निष्पक्ष बनाउने राष्ट्रिय दायित्व पुरा हुनेछ ।”


सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधी र राजनीतिक दलहरुसँग छलफल गरेर चुनावको तयारीलाई अघि बढाएको मुख्य निर्वाचन अधिकृत थापाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले आगामी निर्वाचनलाई स्वच्छ, निपक्ष, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउन सुरक्षा देखि समग्र ब्यवस्थापकीय तयारीमा जुटेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले देशलाई राजनीतिक हिसाबले निकास दिनका लागि आगामी चुनावमा नागरिकले आफ्नो मताधिकारको प्रयोग गर्ने वातावरण बनाउनु सबैको दायित्व हुने बताउनुभयो ।
जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले मतदान स्थल, मतदान केन्द्र छनौट, अन्तिम मतदाता नामावली कायम, अस्थायी मतदाता नामावली संकलन, कर्मचारी र मतदान सामग्रीको व्यवस्थापनमा जुटेको जानकारी दिनुभयो ।
प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मतदाता रहेका छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र कायम भएको छ ।

