
बेनी ः म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघे संक्रान्ति पर्वको रौनक छाएको छ ।
जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे संक्रान्ति र साउनेसंक्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल्पसंख्यक छन्त्याल समुदायले माघेसंक्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन ।
नेपाल मगर संघ म्याग्दीका अध्यक्ष खम थापामगरले साउने संक्रान्तिलाई हिउँद र माघे संक्रान्तिलाई बर्खा सुरू भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको बताउनुभयो ।

“प्रकृतिका पुजारी मगर समुदायले साउने संक्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन,” उहाँले भन्नुभयो, “माघे संक्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ ।”
यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउने संक्रान्तिमा भेला भएर नाचगान गर्ने, पुख्र्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको छ ।


चेलीबेटीहरू तरुल र सेलरोटी, फलफुल लिएर माघे संक्रान्तिमा माइतीघर जान्छन । यो पर्व मनाउन सहर, बजार र विदेशबाट मगर समुदाय जन्मथलोमा फर्किएका अन्नपूर्ण गाउँपालिका–७ टिकोटकी टिका तिलिजा पुनले बताउनुभयो ।
चाडपर्वले आफन्तजन र साथीभाईसँग भेटघाट हुने अवसर जुराएको उहाँले बताउनुभयो । माघे संक्रान्ति पर्वको अवसरमा मगर बस्तिहरुमा खेलकुुद तथा सांस्कृतिक मेला आयोजना भएका छन् ।
म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पर्ने म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई सय वर्षअघि बस्ती बसेदेखि माघे संक्रान्तिको अवसरमा मेला लाग्ने चलन रहेको स्थानीयबासी समेत रहेका बेनी नगरपालिकाका पुर्वप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलामबाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरू बेनीको माघे संक्रान्ति मेलामा आउने गर्दथे ।
बेनीस्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । “त्यसबेला अहिलेको जस्तो गाउँ गाउँमा बजार थिएन् । किनमेलका लागि मेला कुर्नुपर्दथ्यो । बेनीमा माघे संक्रान्तिको मेला किनमेलको माध्यम थियो,” श्रेष्ठले भन्नुभयो, “युवाहरूले गीत गाउने, नाच्ने गरेर रमाइलो गरेको अझै झलझली लाग्छ ।”
समय, परिवेश र जीवनशैलीमा आएको परिवर्तनसँगै बेनीमा हुने मेलाको स्वरुप पनि फेरिएको छ । पछिल्लो समयमा यहाँ मेला र महोत्सव आयोजना गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै संरक्षण र प्रवद्र्धन मा जोड दिइएको छ ।
हरेक तीन÷तीन वर्षमा स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गरिदै आएको छ । संघअन्र्तगतको महिला उद्यम विकास समितिले महोत्सव नहुने वर्षमा माघे संक्रान्ति मेला सञ्चालन गर्दै आएको छ । यस वर्ष बुधबारदेखि बेनीमा ११ औ माघे संक्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रर्दशनी शुरु भएको छ ।
बेनीमा परम्परागत रुपमा लाग्ने माघे संक्रान्ति मेलाको जगेर्ना, स्थानीय खाना, कला संस्कृतिको संरक्षण र सम्र्बद्धन, आन्तरिक तथा बाह्य पर्यटक प्रर्वद्धन, प्रतिभा पहिचानका साथै आर्थिक गतिबिधिलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले बताउनुभयो ।

