
बेनी ः म्याग्दीको बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक कालोपत्र भएको छ ।
पक्की सडक निर्माण भएपछि यात्राअवधी छोटिनुका साथै जिर्ण सडकमा जोखिम मोलेर सकसपूर्ण यात्रा गर्नुपर्ने समस्या हटेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालित बेनी–पाखापानी सडक योजना मार्फत बेनी नगरपालिका–९ भुतादैला देखि नेप्टेचौर खण्डमा कालोपत्र भएको हो ।
दुई किलोमिटर दुरिमा प्रिमिक्स प्रबिधिको कालोपत्र गर्ने काम सम्पन्न भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाले बताउनुभयो । कालोपत्र भएको सडकमा रंग लगाएर डिलतर्फ बार राख्ने र ट्राफिक संकेत चिन्हहरु राख्ने काम भैरहेको उहाँले बताउनुभयो । गत मंसिर दोस्रो सातादेखि कालोपत्र गर्न थालिएको थियो ।


बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीका अनुसार वि.स. २०५६ मा तत्कालीन जिल्ला विकास समितिले मार्ग खोलेको यो सडक २७ वर्षपछि कालोपत्र भएको हो । नेप्टेचौरका बासिन्दा फौदबहादुर चोखालले धुलो र हिलोबाट मुक्ति मिल्नुका साथै यात्रा अवधी छोटिएको, दुर्घटनाको जोखिम घटेको, झञ्जट र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको बताउनुभयो ।
यसअघि नेप्टेचौर देखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकोमा अहिले १५ मिनेटमा यात्रावअधी छोटिएको उहाँले बताउनुभयो । सडक कालोपत्र भएपछि सार्वजनिक यातायात र दुवानीको भाडा समायोजनका लागि नगरपालिकासँग उहाँले आग्रह गर्नुभयो । बेनी देखि भुतादैला सम्म करिब पाँच किलोमिटर सडक बेनी नगरपालिका र प्रदेश सरकारले यसअघिनै कालोपत्र र ढलान गरेका थिए ।

बेनी–पाखापानी सडक निर्माणका लागि वि.स. २०८१ जेठमा पूर्वाधार विकास कार्यालय र मङ्गलादेवी–सुवास कन्ट्रक्सनबीच रु. १० करोड १६ लाख एक हजार तीन सय ६४ मा ठेक्का सम्झौता भएको थियो । चालु आर्थिक वर्षसम्म ठेक्काको म्याद रहेको यस योजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।
तीन दशमलब पाँच मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ । यसै आयोजना अन्तर्गत नेप्टेचौर–तोरीपानी खण्डमा सडक फराकिलो पार्ने काम सकेर पर्खाल, नाली निर्माण, ढलान भैरहेको र ग्राभेलको तयारी गरेको निर्माण कम्पनीका सञ्चालक सुभाषचन्द्र कार्कीले बताउनुभयो ।
निर्धारित समयभित्रनै योजना सम्पन्न गर्ने बताउदै उहाँले बजेट अभावका कारण समस्या भएको गुनासो गर्नुभयो । उक्त योजनाका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ मा रु. चार करोड बजेट बिनियोजन र रु. २० करोडको स्रोत सुनिश्चितता गरेको थियो ।
बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ नं वडालाई बेनीबजारसँग जोड्ने बेनी–पाखापानी सडकलाई म्याग्दीको प्राथमिकताप्राप्त आयोजना घोषणा गरिएको म्याग्दी १(क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो ।
निर्माणाधिन योजनाका लागि रकमान्तर गराएर थप बजेट ब्यवस्था मिलाउनुका साथै तोरीपानी देखि पात्लेखेत र झि हुदै पाखापानी तर्फ पनि स्तरोन्नतिका लागि थप बजेटको ब्यवस्थाका लागि प्रदेश सरकारमा पहल गरिएको उहाँले बताउनुभयो ।
म्याग्दीको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडक जिल्लाको रणनीतिक योजना मानिएको छ । पाखापानी–ठाडाखानी हुदै धवलागिरीको भेडिखाल्डा, मल्कवाङ, मराङ, बिम, दरवाङ जोडिन्छ । म्याग्दी–राहुघाट चक्रपथ को अवधारण अनुसार बिम–मराङ–मल्कवाङ खण्डमा प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि नयाँ योजना शुरु गर्ने तयारी गरेको छ ।

