
बेनी ः चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजनाको निर्माण कार्य स्थगित भएको छ ।
अत्याधिक चिसोका कारण खोल्सामा पानी र तुसारो जमेको, मजदुरहरुको स्वास्थ्यमा समस्या देखिने र ढलानमा प्रयोग भएको सामग्री नजम्ने अवस्था भएपछि निर्माण कार्य स्थगित भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेको यो आयोजना निर्माण स्थल समुन्द्रि सतहदेखि दुई हजार चार सय मिटर देखि दुई हजार आठ सय मिटर उचाईमा छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाले चिसो र प्रतिकुल मौसमका कारण स्थगित भएको चित्रे–घोडेपानी सडक योजनाको कामलाई गर्मी बढेपछि फागुन महिनादेखि सूचारु गरिने बताउनुभयो ।

चित्रे देखि घोडेपानी जोड्ने चार किलोमिटर दुरीको सडक मध्य चित्रेदेखि घोडेपानी तर्फ करिब दुई किलोमिटरलाई फराकिलो बनाउने, ग्रेड र घुम्ति सुधार तथा नाली बनाउने काम सकिएको छ । हालसम्म ३८ प्रतिशत भौतिक प्रगति भएको उक्त योजना मार्फत थप दुई किलोमिटरमा विस्तार, ग्रेड र घुम्ती सुधार गरि ग्राभेल गर्न बाँकी छ ।
वि.स. २०८१ कात्तिक १४ गते रु. दुई करोड २३ लाख ९६ हजारमा विकेश जय दुप्चे जे.भी.ले ठेक्का सम्झौता गरेको थियो । गत आर्थिक वर्षमा रु. ७० लाख बिनियोजन भएको यस योजनाका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु. ७५ लाख बिनियोजन गरेको छ ।


वि.स. २०७५ मा गण्डकी प्रदेश सरकारको बजेटबाट मार्ग खुलेको सडक सात वर्षपछि स्तरोन्नति थालिएको हो । सडक सहज भएपछि घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटक आगामन बढ्ने, स्थानीयबासीलाई आवत जावत गर्न सहज हुने घोडेपानीका बासिन्दा समेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।
गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे जोड्ने १८ किलोमिटर सडक संघीय सरकार मार्फत गत वर्ष स्तरोन्नति भएको थियो । म्याग्दी १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ मा रु तीन करोड बजेटको स्रोत सुनिश्चितता गरेर बहुबर्षीय ठेक्का लगाइएको हो ।
कास्कीको नयाँपुुल, तिखेढुुंगा, उल्लेरी हुुदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने सम्भावना भएकाले यो योजनालाई प्राथमिकता दिएको भण्डारीले बताउनुभयो ।
प्रदेश सांसद भण्डारी र गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयका पुर्वमन्त्री एवम् सांसद रेशमबहादुर जुग्जाली (सुविन)ले शुक्रबार उक्त योजनाको अनुगमन गर्नुभएको थियो । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी पुनहिल दृष्य अवलोकनका लागि प्रसिद्ध छ । यहाँ वार्षिक ३० हजार जना भन्दा बढी विदेशी पर्यटक भ्रमणमा आउँछन् ।

