
बेनी । नेत्रविक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपा माओवादीले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ म्याग्दीमा धु्रब घिमिरेलाई उमेद्वार बनाउने भएको छ ।
उक्त पार्टीको शुक्रबार बेनीमा बसेको सचिवालय बैठकले पोलिटब्युरो सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज घिमिरेलाई उमेद्वार बनाउन एकल नाम सिफारिस गरेको नेता गोपाल पौडेलले जानकारी दिनुभयो । बेनी नगरपालिका–२ बगरफाँटका घिमिरे म्याग्दी बहुमुखी क्याम्पसको पुर्व स्ववीयु सभापति हुनुहुन्छ ।

माओवादी नेतृत्वमा सञ्चालन भएको दश वर्षे जनयुद्धमा भूमिगत भएका घिमिरे पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्न लाग्नुभएको हो । नेकपा माओवादीले संसदीय प्रतिस्पर्धालाई उपभोग गर्ने नीति लिएपछि घिमिरे चुनावी प्रतिस्पर्धामा भाग लिने हुनुभएको हो ।

विप्लपले वि.स. २०७०, २०७४ र २०७९ को चुनाव बहिस्कार गरेका थिए । उक्त पार्टीले समानुपातिकतर्फ म्याग्दीका शुसिला विक, गोमा घर्ती र पदम पुन (फिल्टर)लाई समानुपातिक उमेद्वार सिफारिस गरेको छ ।

