
घार, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको छ ।
समुदाय स्तरबाट सहयोग जुटाएर खरिद गरिएको तीन रोपनी छ आना जग्गामा खेलमैदानको पूर्वाधार निर्माण थालिएको हो ।
अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु. २० लाख बजेटबाट खेलमैदानको डिलतर्फ पर्खाल निर्माण र जग्गा सम्माउने काम गरिएको वडा अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।

“खेलमैदानको अभावमा युवायुवतिहरुलाई खेलअभ्यास गर्न समस्या भएपछि घार युवा क्लवले गत वर्ष रु. २८ लाखमा जग्गा खरिद गरेको थियो,” उहाँले भन्नुभयो “चालु आर्थिक वर्षमा गाउँपालिकाले बिनियोजन गरेको बजेटको काम सकिएको छ । प्रदेश सरकारले बिनियोजन गरेको रु. पाँच लाख बजेटबाट थप संरचना निर्माण गर्न बाँकी छ ।”
क्लवले खरिद गरेको जग्गाको नजिकै रहेको थप दुई रोपनी सार्वजनिक जमिनमा रहेको ढुंगालाई पनि पन्छाएर खेलमैदान बनाउने योजना रहेको छ । ठुला ढुङ्गा फुटाउनका लागि मध्य कालीगण्डकी जलविद्युत आयोजनासँग सहयोग मागिएको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

४५ मिटर चौडाई र करिब ७० मिटर लम्बाईमा फुटबल, भलिबल, बास्केटबल खेल सञ्चालन गर्न सकिने प्याराफिट र स्टेजको संरचना सहितको खेलमैदान निर्माण गर्न रु. एक करोड १९ लाख लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ ।
आगामी वर्षमा पनि गाउँपालिका, प्रदेश र संघीय सरकारमा पहल गरेर थप बजेट ब्यवस्थापन गरि खेलमैदान निर्माणलाई पूर्णता दिने वडा अध्यक्ष खड्काले बताउनुभयो । खेलमैदान निर्माण गर्न विभिन्न संघ संस्था र चन्दा सङकलन गरेर रु. २८ लाख ४२ हजारमा गत वर्ष घार युवा क्लवले जग्गा खरिद गरेको थियो ।
घारखोला जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत उपलब्ध गराएको रु. १३ लाख ५० हजार, चन्दा मार्फत रु. पाँच लाख ५५ हजार परिचालन गरिएको खेलमैदान खरिदका लागि हाल जापानमा रहनुभएका घारका ददीवल खड्काले व्यक्तिगत रुपमा रु. पाँच लाख सहयोग गर्नुभएको छ ।
घार कोटमन्दिरबाट रु. एक लाख ६५ हजार, शिवकुमार बरुवालले रु. ५० हजार, कमल बरुवालले रु. ५५ हजार, अन्नपूर्ण वन संरक्षण उपसमितिले रु. एक लाख दश हजार सहयोग गरेका र रु. ७० हजार ऋण रहेको घार युवा क्लवका अध्यक्ष सागर खड्काले बताउनुभयो ।
घारका बल्लिका बरुवालबाट रु. २१ लाखमा दुई रोपनी १३ आना तीन दाम र भुपाल कार्कीबाट १० आना तीन पैसा क्षेत्रफलको जग्गा रु सात लाखमा खरिद गरिएको खड्काले बताउनुभयो ।

