
बेनी । बेनी नगरपालिका–९, तोरीपानीमा रहेको विद्यालयमा विद्यार्थी पढाऔँ सहयोग अभियानको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
गरिब तथा जेहेन्दार विद्यार्थीहरुको पठन पाठनमा सहयोग गर्ने उद्देश्य सहित स्थापना भएको अभियानको साधारणसभाको अवसरमा विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाइ विद्यालय झोला तथा कपी हस्तान्तरण गरिएको थियो ।
अभियानका संयोजक दामोदर शर्माको अध्यक्षता बेनी नगरपालिका वडा ९ का वडा अध्यक्ष चक्र केसी प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अभियानले हालसम्म सञ्चालन गरेका शैक्षिक तथा सामाजिक गतिविधिबारे जानकारी गराइएको थियो ।



अभियानको रु. १० लाखको अक्षयकोष बनाउने योजना रहेको र हालसम्म रु. आठ लाख ५० हजार संकलन भएको छ । प्रमुख अतिथि केसीले शिक्षा क्षेत्रमा समुदायको साझा दायित्व रहेको उल्लेख गर्दै ‘विद्यार्थी पढाऔँ अभियान’ले आर्थिक रूपमा कमजोर विद्यार्थीहरुको अध्ययन अध्यापनमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य अभियानका सचिव सन्दीप खत्रीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन विद्यालयका प्रधानाध्यापक गणेश बनियाँले गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक, अभियानका सदस्य तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
विद्यालय परिवार तथा अभियानले सहयोगी दाताहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि विद्यार्थी केन्द्रित कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । साथै सोही कार्यक्रमको अवसरमा विभिन्न समाजसेवी, चन्दादाता, निर्माण व्यवसायी आदीबाट प्राप्त ४४ जना विद्यार्थीलाई न्यानो कपडा समेत वितरण गरिएको थियो ।

