
बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलमा लेक लाग्ने (अक्सिजनको कमी)ले बिरामी परेकाको प्राथमिक उपचार गर्ने जनशक्ति तयार पारिएको छ ।
अन्नपूर्ण गाउँपालिकाले भौगोलिक रुपमा विकट र दुर्गम हिमाली क्षेत्रको पदयात्रा, भ्रमणमा आउने पर्यटक र स्थानीयबासीलाई अक्सीजनको कमीका कारण स्वास्थ्यमा समस्या आउँदा प्राथमिक र घरेलु बिधीबाट उपचार गर्ने तरिका सिकाएर जनशक्ति तयार पारेको हो ।
अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख समुन्द्र बरुवालले उच्च पहाडी र हिमाली क्षेत्रमा पर्ने ४, ५, ६, ७ र ८ नम्बर वडामा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र पर्यटकीय स्थलका होटल ब्यवसायीलाई आधारभूत तालिम प्रदान गरिएको जानकारी दिनुभयो ।



गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य तालिम केन्द्र पोखराको प्राविधिक सहयोगमा यसअघि मनाङको चामेमा रहेको हिमालयन रेक्यु एशोसियसनमा स्वास्थ्यकर्मीहरुलाई तालिम दिएको गाउँपालिकाले सोमबार पोखरेबगरमा अन्नपूर्ण आधार शिविर, मौरिस हर्जोग पदमार्ग, खोपारा, बयली, घोडेपानी, पुनहिल, फुलबारी र मोहरेडाडाका २५ जना व्यवसायीलाई तालिम दिएको हो ।
लेक लाग्ने समस्याको लक्षण, प्राथमिक उपचार गर्ने र घरेलु औषधी तयार पार्ने विषयमा बरुवालले जानकारी गराउनुभएको थियो । पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकहरुलाई लेक लाग्ने समस्याको औषधी उपचारका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. तीन लाख बजेट बिनियोजन गरेको छ ।
उक्त बजेटबाट लेक लाग्ने समस्या आउँदा आवश्यक पर्ने औषधी खरिद गरेर पर्यटकीय स्थलका होटल ब्यवसायीलाई उपलब्ध गराउने, पदयात्रामा जानेहरुका लागि जानकारीमुलक ब्रोसर बनाएर वितरण गर्ने र विभिन्न ठाउँमा सन्देशमुलक सूचनाहरु राख्ने तयारी गरिएको बरुवालले जानकारी दिनुभयो ।

