
बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ दुवारीमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत दुवारी, ढाँड र पात्लेखर्कमा वितरण लाइन विस्तार र ट्रान्सफर्मर चार्ज भएको हो । मुख्य, शाखा लाइनको पोल गाड्ने, ११ केभी क्षमताको तार तान्ने र ५० केभीए क्षमताको ट्रान्सफर्मर जडान गर्ने काम सकिएको निर्माण कम्पनी न्यू ढुङ्गाना निर्माण सेवाका सञ्चालक दिनेश ढुङ्गानाले बताउनुभयो ।
प्रशारण लाइनको परिक्षण र ट्रान्सफर्मरको चार्ज सफल भएको उहाँले बताउनुभयो । मिटरबक्स जडान र वायरिङ सकिएपछि घरघरमा केन्द्रिय लाइनको बिजुली बल्नेछ । दुवारी, ढाँड र पात्लेखर्कमा ९० घरपरिवारको बसोबास छ ।


यहाँका बासिन्दा हाल लघुजलविद्युत परियोजनाको विद्युत प्रयोग गर्दै आएका छन् । म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०÷०८१ देखि रु. २२ करोड बजेटको योजना सञ्चालन गरेको छ ।
यस योजना मार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं.–४ ओखरबोटका छ सय, च्युरीबोटका करिब एक सय, धवलागिरी गाउँपालिकाको मलम्पारका एक सय ५० र बुलका ४५ घरमा विद्युतीकरण भइसकेको छ ।
तीन सय ७० घरपरिवारको बसोबास रहेको लुलाङमा गत जेठ, एक सय ५० घरपरिवारको बसोबास रहेको मल्कवाङ र एक सय ५० घरपरिवारको बसोबास भएको महभिरमा गत मंसिर महिनामा ट्रान्सफर्मर चार्ज भइसकेको नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो ।
यो ठेक्का मार्फत धवलागिरी गाउँपालिका–१ को गुर्जा बाहेकका बस्तिहरुमा केन्द्रिय विद्युत सुविधा पुुग्ने केन्द्रका प्रमुख गामीले बताउनुभयो । धवलागिरि गाउँपालिका–४ खिवाङ, चेचुङ, नाउरा, बगर, सिम्कोश र नेरवाङमा पनि विद्युत विस्तारको काम थाल्न निर्माण ब्यवसायीलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।

