
ग्रामप्रकाश मावि दोस्रो र जनकल्याण तेस्रो भए
बेनी, । पर्बतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योति माध्यमिक विद्यालय २०८१ सालको एसईई परीक्षाको नतिजामा सामुदायिक विद्यालयतर्फ पर्वत जिल्लामा पहिलो बनेको छ ।
त्यसैगरी जलजला गाउँपालिका–५ लेकफाँटमा रहेको ग्राम प्रकाश माध्यमिक विद्यालय लेखफाट दोश्रो र वडा नम्बर ८ मा रहेको जनकल्याण माध्यमिक विद्यालय नाग्लीवाङ तेश्रो भएका छन् । जनकल्याण मावि नाग्लिबांग सामुदायिक विद्यालय तर्फ सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल जिल्लाको एक मात्र विद्यालय हो ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा विकास तथा समन्वय इकाई, पर्बत ले विद्यालयलाई मंगलबार उत्कृष्ट विश्लेषणसहित प्रथम घोषणा गर्दै सम्मान गरेको हो ।
विषयगततर्फ पनि विद्यालयका शिक्षकहरूले जिल्लामै उत्कृष्ट नतिजा दिलाउन सफल भएका छन । विज्ञान विषयमा मेख बहादुर भण्डारी, गणितमा यज्ञ बहादुर खत्री, र सामाजिकमा जीवन कार्की जिल्लामै प्रथम हुनुभएको छ ।
उहाँहरूलाई शिक्षा समन्वय इकाईले खादा र प्रमाणपत्र सहित सम्मान गरेको छ । शिक्षकहरुलाई बुधबार विद्यालयमा पनि सम्मानका साथै खुसीयाली मनाइएको थियो ।
निश्चित मापदण्डका आधारमा समेत विद्यालयले प्रथम स्थान हासिल गरेपछि, विद्यालयले विवेक सुवेदी पुण्य स्मृति शैक्षिक रनिंग शिल्ड पनि प्राप्त गरेको छ । जलजला गाउँ पालिकाका तिन विद्यालयले प्राप्त गरेको यो उपलब्धिले महतवपूर्ण भएको दावी गरिएको छ ।
जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले शैक्षिक क्षेत्रमा गरेको लगानी र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कार्यकालको सुरुदेखिनै गरेको प्रयासको परिणाम देखिन थालेको बताउनुभयो ।

