
बेनी, कालोपत्र भएको एक महिनामै भत्किन थालेको म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकलाई गुणस्तर र मापदण्ड अनुसार हुनेगरि सुधार गर्न जनप्रतिनिधी र उपभोक्ताहरुले दवाव दिएका छन् ।
सडक डिभिजन कार्यालय बागलुङ मार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी नगरपालिका– १ रत्नेचौर देखि वडा नं.–२ भकुण्डे जोड्ने सडकको उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको सडकमा हालै डिबिएसडी प्रबिधीको कालोपत्र भएको थियो ।
बिटुमिनले सडकमा बिछ्याएको चिप्स नसमातेको र खाल्डै खाल्डा बनेको विषयमा बेनी नगरपालिका–१ का अध्यक्ष टेकबहादुर थापा, २ का अध्यक्ष यामबहादुर कार्की, पुर्व अध्यक्ष हिराबहादुर थापा सहित जनप्रतिनिधी र स्थानीयबासीहरुको टोलीले बुधबार सडक डिभिजन कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका थिए ।
कार्यालय पुगेका उनिहरुले सडक डिभिजनका निमित्त प्रमुख बिष्णु लामिछाने र निर्माण कम्पनी गजेन्द्र–नयाँबाटो जेभीका आयोजना व्यवस्थापक अरुण सेढाईलाई भत्किएको सडकमा पैदल हिडाएर निरिक्षण गराएका छन् ।

“यो सडकको बेस बिछ्याउदा देखिनै गुणस्तरीय नभएको गुनासोको विषयमा पहिलेदेखिनै लिखित रुपमा सचेत बनाएपनि सुनुवाई भएन्,” बेनपा–२ का वडा अध्यक्ष कार्कीले भन्नुभयो “बेसको धुलोका कारण बिटुमिन जम्न नपाउदाँ दुई चरणमा गरिएको कालोपत्र कार्पेट बिछ्याएको जस्तो भएको छ ।”
उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको चार किलोमिटर पाँच सय मिटर दुरीको सडकमा हालै दोस्रो चरणको कालोपत्र सकिएको थियो । बिमिराबोट–भकुण्डे–तमाने खण्डको चार किलोमिटर दुरी सडकमा कालोपत्रका लागि संरचना तयार पारेर बेस र सबबेस राख्ने तयारी भएको छ ।

नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाईका दरले डिबिएसडी प्रविधिको कालोपत्र र ढलान गर्ने सम्झौता छ । उक्त योजना निर्माण गर्न वि.स. २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु. २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनाको ठेक्का अवधी भएको योजनाको म्याद २०८२ फागुन महिनासम्म थप भएको छ ।
सडक डिभिजनका अनुसार करिब ७५ प्रतिशत भौतिक प्रगति भएको छ । सडक डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख लामिछानेले सडकमा देखिएको समस्यालाई सुधार गर्न लगाइने प्रतिवद्धता जनाउनुभयो । भत्कीएको ठाउँमा मर्मत गर्न लगाउने उहाँले बताउनुभयो ।
“गुनासोको सम्बन्धमा करेक्सन गर्नुपर्ने ठाउँमा करेक्सन गर्न हामी तयार छौ,” लामिछानेले भन्नुभयो “सरफेस अनफुलेसन भएकोमा मिलाउछौ, गिट्टी नबसेको ठाउँमा दोहोराएर राख्न लगाउछौ ।”
निर्माण कम्पनीका आयोजना व्यवस्थापक सेढाईले बर्खाअघि भएको पहिलो चरणको कालोपत्र र बेसलाई बाढीले बिगारेको, दोस्रो चरणमा बिछ्याएको बिटुमीन चिसोले जमेर चिप्स निस्कीएपनि गर्मी बढेपछि बिटुमीन पग्लीएर चिप्स समात्ने बताउदै त्यसपछि पनि सुधार नभए गुणस्तर र मापण्ड अनुसारको बनाएर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।
जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले रत्नेचौर–भकुण्डे सडकको गुणस्तरको विषयमा यसअघि पनि सडक डिभिजनलाई सचेत बनाएको र पछिल्लो समय निर्माण कार्यमा भएको लापरबाहीको सम्बन्धमा छलफल गर्न यही पुष २० गते सडक डिभिजनका प्रमुख, जनप्रतिनिधी, निर्माण कम्पनी र उपभोक्ताहरुको बैठक बोलाएको बताउनुभयो ।

