
बेनी, गण्डकी प्रदेश सरकार अन्तर्गत म्याग्दी स्थित दुई वटा कार्यालय एकीकृत भई सेवा सुरु गरेका छन् । सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन विकास कार्यालय गाभिएर नयाँ संरचनाअनुसार सेवा प्रवाह सुरु भएको हो ।
एकीकृत संरचनाअनुसार कार्यालयको नाम “गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, एकीकृत सेवा कार्यालय” राखिएको छ ।
दुई फरक कार्यप्रकृतिका कार्यालय एकै स्थानबाट सञ्चालन हुँदा सेवाग्राहीलाई सहज हुने र प्रशासनिक खर्चमा समेत मितव्ययिता हुने अपेक्षा गरिएको एकीकृत सेवा कार्यालय म्याग्दीका प्रमुख सम्सेर घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेनी नगरपालिका–७ मंगलाघाट स्थित साविक सामाजिक विकास कार्यालयको भवनबाट यही पौष महिनादेखि औपचारिक रुपमा एकिकृत सेवा शुरु गरिएको हो । उद्योग तथा पर्यटन कार्यालय भाडाको घरमा थियो भने सामाजिक विकास कार्यालय सरकारी भवनमा थियो ।
यस कार्यालयमार्फत उद्योग तथा व्यवसाय दर्ता, नवीकरण, उद्यम तथा व्यवसाय प्रवद्र्धन कार्यक्रम, बजार अनुगमन, पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण, सीपमूलक तथा आयआर्जनमूलक तालिमलगायतका सेवा निरन्तर सञ्चालन हुने जनाइएको छ ।
त्यस्तै, साविकको सामाजिक विकास कार्यालयले सञ्चालन गर्दै आएका लक्षित वर्ग केन्द्रित क्षमता अभिवृद्धि कार्यक्रम, सीपमूलक तालिम, शैक्षिक पूर्वाधार निर्माण तथा सांस्कृतिक र धार्मिक क्षेत्रका पूर्वाधार विकास कार्यक्रमहरू पनि यही एकीकृत कार्यालयमार्फत निरन्तरता दिइने भएको छ ।

