
बेनी, । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले सामुदायिक कुकुरलाई रेविज विरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ ।
अभियान अन्तर्गत सोमबार धवलागिरी गाउँपालिकाको ताकम, धारापानी र दरवाङमा सामुदायिक कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको छ । ताकममा ५, धारापानीमा ६ र दरवाङमा २१ वटा सामुदायिक कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको केन्द्रका अधिकृत छैटो तथा सूचना अधिकारी सुभाष रेग्मीले जानकारी दिनुभयो ।

केन्द्रका प्रमुख गोपाल गिरी, अधिकृत छैटौ रेग्मी, लेखापाल गणेश पौडेल, धवलागिरीका पशु सेवा प्राविधिक साजेल पाण्डे, मालिकाका प्राविधिक असुन रिजाल र सरोज पन्तको टोलीले खोप लगाउनुभएको थियो ।

मंगलबार अन्नपूर्ण गाउँपालिकाको दाना, भुरुङ्ग–तातोपानी, पोखरेबगर र रघुगङ्गाको तिप्लाङमा सामुदायिक कुकुरलाई रेविज विरुद्धको खोप लगाउने कार्यक्रम रहेको केन्द्रले जनाएको छ । कुकुरलाई रेविज रोग लाग्न नदिन र मानिषलाई पनि बचाउनका लागि जहाँ कुकुर भेटिन्छन त्यही खोप लगाउने तरिकाले प्राविधिक टोली परिचालन भएको हो ।

