
बेनी ः पर्वतको जलजला गाउँपालिका–७ बाँसबोटमा बाँझो जमिनमा सामुहिक आलु खेती गरिएको छ ।
बाँझो जमिनलाई सदुपयोग, रोजगारी सिर्जना र किसानको आयआर्जन वृद्धीको साथै बीउ आलुमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले जलजला–बाँसबोट कृषक समूह मार्फत आलु खेती भएको हो । ८० रोपनी खेत भाडामा लिएर १६ जनाले एक सय १५ बोरा आलुको बिउ रोपेका समुहका सचिव कमलनयन आचार्यले बताउनुभयो ।
किसानले व्यक्तिगत रुपमा ५० बोरा आलु रोपेका छन् । सामुहिक आलु खेती सुरु भएको खेतमा यसअघि हिउँदमा खेती हुदैनथ्यो । बाँसबोटमा दुई वर्षअघि पुर्जाखोला सिचाई आयोजना निर्माण सकिएपछि बाह्ै महिना सिचाई सुविधा पुगेको छ । यसअघि हिउँदमा बाझो हुने खेतबारीमा खेती गरेर हराभरा बनाउन किसानहरु अग्रसर भएका स्थानीय किसान भोजराज आचार्यले बताउनुभयो ।



बाँझिएको जमिनलाई सदुपयोग, रोजगारी सिर्जना र किसानको आयआर्जन वृद्धिका लागि जलजला गाउँपालिकाले बीउ आलु उत्पादन कार्यक्रम मार्फत किसानहरुलाई सहयोग गरेको छ । राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्व मूलबीउलाई पिविएम प्रबिधीबाट (बियाँबाट आलुको विउ उत्पादन) गरेर जलजला गाउँपालिका बीउ आलुमा आत्मनिर्भर पनि भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
पिविएम प्रबिधीबाट उत्पादन भएको बीउ आलु पाँच पुस्तापछि खायनयोग्य हुन्छ । यसअघि जलजलाका कृषकले करिब ५० वर्ष पुरानो बीउ प्रयोग गर्दै आएका थिए । पुरानो बीउ लगाउँदा एक बोराबाट सात देखि दश बोरा सम्म उत्पादन हुने गरेकोमा नयाँ विउ लगाउँदा एक बोराले २० बोरासम्म उत्पादन दिन थालेको छ ।
किसानले उत्पादन गरेको बिउ आलुलाई प्रतिकिलो रु. ६५ मा खरिद गरेर ५० प्रतिशत ढुवानीमा अनुदान दिएर पोखराको चिस्यानगृहमा भण्डारण गर्ने र प्रतिकिलो रु. १५ अनुदान दिएर किसानलाई वितरण गर्ने ब्यवस्था मिलाएको गाउँपालिकाले जनाएको उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

बाँदरको समस्या आलु खेतीको लागि चुनौति बनेको छ । बाँदरको हुलले आलुका बिरुवा उलेल्ने र दाना निकालेर नष्ट गरेर दुख दिने गरेको छ । सामुहिक आलु खेती भएको बाँसबोटमा तीन महिनाका लागि बादर हेरालु राख्ने समझदारी भएको वडा अध्यक्ष टुंगनाथ आचार्यले बताउनुभयो ।
जलजलाको बनौ, तारे, शालीजा, लेकफाँट, धाइरिङको धाखेत, धारापानीमा बर्खेआलु खेती हुन्छ । सल्यान, नाग्लीवाङ, मल्लाजमा हिउँदे आलु खेती हुन्छ । राम्रो मूल्य र बजार पाइने भएकाले खायनका साथै बीउ आलु उत्पादनमा किसानहरु आकर्षित भएका छन् ।

