
बेनी, म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा एक सय वर्ष पुरानो ऐतिहाँसिक गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनःनिर्माण भएको छ ।
सरकारी निकायको अनुदानको तुलनामा समुदायले दोब्बर बढी सहयोग जुटाएर ऐतिहाँसिक महत्वको मन्दिर पुनःनिर्माण गरेका हुन् । पुनःनिर्माणपछि मन्दिर आकर्षक देखिएको छ ।
बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले वि.स. १९३० को दशकमा स्थापना र १९८० को दशकमा निर्माण भएको गणेश मन्दिरलाई गुठीयार र नगरपालिकाको करिब रु. २० लाख २५ हजार लगानीमा पुननिर्माण गरिएको जानकारी दिनुभयो ।


“पुरानो मन्दिरलाई भत्काएर भक्तपुरे इँटा र बुट्टे काठको प्रयोग गरेर निर्माण भएको मन्दिरको छाना पित्तलले छाइएको छ,” उहाँले भन्नुभयो “बेनी नगरपालिकाले गत आर्थिक वर्षमा रु. छ लाख अनुदान उपलब्ध गराएको थियो । समुदायले अनुदान भन्दा बढी सहयोग जुटाएका छन् ।”
हालसम्म रु. १९ लाख ९३ हजार सात सय ९५ खर्च, रु. १७ लाख ६९ हजार नौ सय ७४ आम्दानी र रु. दुई लाख २३ हजार आठ सय २१ भुक्तानी दिन बाँकी रहेको निर्माण समितिका किशोर श्रेष्ठले बताउनुभयो । मन्दिरको वरपर राखिएको वत्तीबाल्ने दियोको खर्च जोड्दा कुल रु. २० लाख २५ हजार पुग्ने उहाँले बताउनुभयो ।
बेनीका स्व. मोतिकुमार श्रेष्ठले गुठी स्थापना गरेर गणेश मन्दिर बनाउनुभएको थियो । मन्दिर जिर्ण भएपछि निर्माणकर्ता मोतिकुमारका छोरा जयन्द्र श्रेष्ठ राजभण्डारी लगायत परिवारसँग समन्वय गरेर पुनःनिर्माण गरिएको हो ।
मन्दिर पुनःनिर्माणमा जुटेको रकममा मोतिकुमारका परिवारका सदस्य र आफन्तहरुको योगदान बढी छ । प्रत्येक दिन नित्य पुजा हुने गणेश मन्दिरमा गणेशचौथी र मंगलचौथी तिथिमा विशेष पुजाआजा हुने गर्छ । पुनःनिर्माण सकिएपछि यसै हप्ता हिन्दु धर्मावलम्बीहरुको भगवान गणेशको मुर्तीको प्राण प्रतिष्ठा गरेर नियमित पुजाआजा शुरु गरिएको छ ।
यहाँ पुजाआजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ । बेनी बजारमा हरेक बर्षको घण्टा कर्ण चतुर्थीदेखि हरितालिका तिज सम्म देखाइने बर्खेनाचको समापन यही गणेश मन्दिर परिसरमा गरिन्छ । गणेश मन्दिर बेनी बजारको पुरानो धार्मिक स्थल हो । बेनी भ्रमणमा आउने पाहुना र पर्यटकका लागि गणेश मन्दिर र नजिकैको बेनीकोत आकर्षण हो ।

