
बेनी, म्याग्दीको मङ्गला गाउँपालिका–२ रणवाङ्गको खहरेखोलामा आज भएको ट्याक्सी दुर्घटनामा चालकको मृत्यु भएको छ ।
बेनी–दरवाङ सडकको रणवाङ देखि बाबियाचौरतर्फ जादै गरेको ध १ ज ९९० नम्बरको ट्याक्सी सडकबाट म्याग्दी नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्सीका चालक रणवाङका ३७ वर्षीय सुजन सेनको म्याग्दी नदीको किनारमा शव भेटिएको र दुर्घटनाग्रस्त ट्याक्सी म्याग्दी नदीभित्र भेटिएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो ।

शसस्त्र प्रहरीको नारच्याङमा रहेको विपद् व्यवस्थापन बेस क्याम्पबाट आएको गोटाखोरको टोलीले नदीभित्र डुबेको ट्याक्सी भेट्टाएका हुन् । सडकबाट उछिट्टिएर करिब एक सय ५० मिटर तल नदीमा पुगेको ट्याक्सीका चालकको शव किनारमा भेटिएको थियो भने, सिसा र केही पाटपुर्जा पाखोमा थिए ।

बिहान नदी किनारमा शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा दुर्घटना अघि मृतक चालकले यात्रु पु¥याएर फर्कदै गरेको खुलेको छ । दुर्घटना हुदाँ ट्याक्सीमा चालकमात्र थिए । घटनास्थलमा पुगेका प्रनाउ थापाले थप अनुसन्धान भइरहेको बताउनुभयो ।

