
बेनी ः प्रदेश अस्पताल बेनीमा शल्यक्रिया मार्फत गरिने प्रसुति र सर्जरी सेवा करिब एक महिनापछि सूचारु भएको छ ।
प्रदेश सरकारले खटाएका शल्यक्रिया मार्फत गरिने प्रसुति र सर्जरीको पनि शल्यक्रिया सेवा दिन सक्ने एमजिडिपी डाक्टर बुधवार अस्पतालमा हाँजिर भएसँगै सेवा सूचारु भएको हो । विशेषज्ञ चिकित्सक अभावमा कात्तिक १५ गतेदेखि शल्यक्रियामार्फत गरिने प्रसूति तथा मंसिर १ गतेदेखि ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवा बन्द भएको थियो ।
स्वास्थ्य मन्त्रालयको सिफारिसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले धौलागिरी अस्पताल बागलुङबाट नवौ तहका डा. हेमन्त बास्तोलालाई मङसिर १० गते बेनीमा शरुवा गरेको थियो । एमजिडिपी डाक्टर आएपछि बन्द भएका शल्यक्रिया सम्बन्धी सेवा सूचारु भएको हो ।

सर्जरी र शल्यक्रिया मार्फत गरिने प्रसुति सेवाका लागि समय र रकम खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्था सिर्जना भएको थियो । बेनी अस्पतालबाट म्याग्दी, मुस्ताङ, पर्वतको जलजला, बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले सेवा लिने गरेका छन् ।

गत भदौ महिना देखि बेनी लगायत गण्डकी प्रदेश सरकार मातहतका अस्पतालको व्यवस्थापन समिति नेतृत्व विहिन छ । सम्बन्धीत जिल्लाको समन्वय समितिका प्रमुख समितिको अध्यक्ष रहने कार्यबिधी खारेज भएपछि अस्पतालहरु नेतृत्वविहिन भएका हुन् ।
म्याग्दी १(क) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले कात्तिक अन्तिम साता बसेको प्रदेशसभाको बैठकमा शुन्य समयमा बोल्दै प्रदेश अस्पतालहरुको विकास समिति र प्रदेश अस्पताल बेनीको प्रशासनिक नेतृत्व नहुँदा देखिएका समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
बेनी अस्पतालले अन्तरङ्ग र बहिरङ्ग सहित हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । मेडिसिन, दन्तरोग, मनोसामाजिक विशेषज्ञ र ११ जना मेडिकल अधिकृत कार्यरत छन् ।
वार्षिक ६० हजारभन्दा बढीले सेवा लिने बेनी अस्पतालको वि.स. २०७४ देखि शुरु भएको भवन निर्माण कार्यले पूर्णता नपाउनु र दरबन्दी अनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु मुख्य चुनौति बनेको छ । बेनी अस्पताललाई वि.स. २०७२ मा १५ बाट ५० शैया क्षमतामा स्तरोन्नति गरिएको थियो ।

