
तोरीपानी ः म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीमा मंगलबारदेखि सयपत्री सामुदायिक घरबास (होमस्टे) शुरु भएको छ ।
पाँच वटा घरमा एक दिनमा २१ जना बास बस्न सक्ने क्षमताको घरवास सुरु भएको हो । जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना क्षेष्ठको घरमा होमस्टे शुरु भएको समूहका अध्यक्ष सिता खत्रीले जानकारी दिनुभयो ।
“गाउँमा आउने पाहुनालाई पारिवारिक वातावरणमा बसोबासको ब्यवस्था मिलाउने उद्देश्यले घरबास सुरु गरेका हौ,” उहाँले भन्नुभयो “पर्यटकको चाप बढेपछि थप घरहरुमा पनि होमस्टे सञ्चालन गर्ने योजना छ ।”

पाहुना राख्नका लागि होमस्टे सञ्चालकले घरमा छुट्टै कोठा बनाएका छन् । खाट, बेड, बिस्तार र शौचालयलाई व्यवस्थित गरेका छन् । एउटा घरमा एक देखि दुई वटा कोठामा पाहुनाका लागि व्यवस्था गरिएको छ । घरका कोठाबाटै हिमाल देख्न सकिन्छ ।
तोरीपानी प्रकृति र संस्कृतिको साथै जैविक बिबिधता र ऐतिहाँसिक हिसाबले पनि महत्वपूर्ण छ । विभिन्न जातजातीको मिश्रीत बसोबास छ । उनिहरुको संस्कार, रहनसहन र ग्रामिण जिवनशैलीमा रमाउन सकिन्छ ।

पाहुनालाई स्थानीय गौरीया गुडुरा जातको धानको भात, कोदो र फापरको पिठोको दिडो तथा रोटी, टिमुरको चटनी, लोकल कुखुरा, खसीको मासु, दूध, दहीका परिकारको स्वाद चखाइने होमस्टे सञ्चालक इब गिरीले बताउनुभयो ।
“गाउँमै उत्पादन भएको खाद्यान्न, तरकारी, फलफूल र पशुजन्य उत्पादनको परिकारको स्वाद चखाउछौ,” उहाँले भन्नुभयो “पर्यटकहरुले यानीमाया, पञ्चेबाजा र भजनमा नाच्न पाउँछन् ।” पाहुनाका लागि होमस्टे सञ्चालकहरुले आफै तरकारी खेती, कुखुरा र गाईभैसीपालन गरेका छन् ।
तोरीपानी मसलेदार फल टिमुरको पकेट क्षेत्र हो । टिमुरको चटनी सयपत्री होमस्टेको विशेष परिकार हो । फर्कदा पाहुनालाई टिमुर, भटमास र भागो कोशेली दिने गरिएको होमस्टे सञ्चालक जमुना श्रेष्ठले बताउनुभयो । रु. एक हजार पाँच सय खर्चमा एक रात बास बस्न सकिन्छ ।
होमस्टे सञ्चालनका लागि इको हिमालय संस्थाले तालिम र पूर्वाधार निर्माणमा सहयोग गरेको छ । संस्थाका निर्देशक नारायण ढकालले प्रति घर रु. ७० हजार बराबरको सामग्री र समूहलाई रु. दुई लाख सहयोग गरेको जानकारी दिनुभयो । इको हिमालयले तोरीपानीमा टिमुर खेती विस्तार र गुणस्तर सुधार र बजारीकरणमा सहयोग गर्दै आएको छ ।


समुन्द्रि सतहदेखि एक हजार सात सय ५० मिटर उचाईमा अवस्थित तोरिपानीको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथी हिमशृङखला देखिन्छ । सुर्योदय र सुर्यास्तको समयमा हिमालको मनमोहक दृष्य देखिन्छ ।
बेनी बजारदेखि नौ किलोमिटर उत्तरतर्फ रहेको तोरीपानीमा बेनी देखि करिब ३० मिनेट सवारी साधनमा यात्रा गरेपछि पुगिन्छ । बेनी देखि अर्थुङ्गे, जामुनाखर्क हुदै किराखोर सम्म पाँच किलोमिटर सडक पक्की छ । किराखोर देखि नेप्टेचौर जोड्ने करिब दुई किलोमिटर सडक कालोपत्र भैरहेको छ । नेप्टेचौर देखि तोरीपानी जोड्ने थप दुई किलोमिटर सडक ग्राभेल गर्न पूर्वाधार निर्माणाधिन अवस्थामा छ ।
तोरीपानीको शिरमा पर्यटकीय स्थल टोड्के, ऐतिहाँसिक स्थल ढोलथान दरवार, धार्मिक स्थल पछै छन् । ढोलथानामा बाइसे चौबिसे राज्यका पालामा बर्खायामको राजधानी थियो । दरवारका भग्नाअवशेषहरु अझै देख्न सकिन्छ । तोरीपानी हुदै पैदलयात्रा र सडकको प्रयोग गरेर बेनी नगरपालिका, रघुगंगा र मंगला गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जान सकिन्छ । फेदीमा मुक्तिक्षेत्रको प्रवेशद्धारको रुपमा परिचित गलेश्वर शिवालय मन्दिर छ ।

होमस्टे उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनीमा आउने पारिवारिक वातावरणमा रमाउन इच्छुक पाहुनाका लागि तोरीपानी उपयुक्त गन्तब्य बन्ने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विश्वास गर्नुभयो । बेनीमा पर्यटकको बसाई लम्बाउने नगरपालिकाको योजनामा तोरीपानीबासीको अग्रसरतामा सञ्चालन भएको होमस्टेले सहयोग पुग्ने उहाँले बताउनुभयो ।
‘‘प्राकृतिक सौन्दर्य मनोरम छ, प्राङ्गारिक कृषि उपजको स्वादले पर्यटकहरुलाई खुसी बनाउनेछ,” उहाँले भन्नुभयो “यसलाई थप व्यवस्थित गर्नेकार्यमा नगरपालिकाले समेत सहकार्य गर्नेछौँ ।’’ घरबासका माध्यमबाट पर्यटन प्रवर्धन, रोजगारी सिर्जना र स्थानीयको आयआर्जन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष चक्र केसीले बताउनुभयो ।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सडक विस्तारको कारण परम्परागत पदमार्गहरु विस्थापित बन्ने अवस्थामा पुगेकाले नयाँ र मौलिक पर्यटकीय गन्तव्यहरुको उजागरमा घरवासले सहयोग पुग्ने बताउनुभयो । तोरीपानीलाई धौलागिरी सेञ्चुरी र टोड्के–धौलागिरी पानोरमा पदमार्गसँग जोडेर पर्यटक भित्र्याउन सकिने उहाँले बताउनुभयो ।
कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, इको हिमाल अष्ट्रियाका अध्यक्ष कुर्ट लुगर, डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत चन्द्रमणी सापकोटा लगायतले सामुदायिक होमस्टेको दिगोपना र यसले समुदायमा पार्ने आर्थिक सामाजिक सकरात्मक प्रभाबको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा पुगेका अतिथि र पर्यटकहरुलाई स्थानीयबासीले फुल माला लगाएर पञ्चेबाजा र भजनकृतन सहित स्वागत गरेका थिए । समूहका अध्यक्ष खत्रीको अध्यक्षता, इब गिरीको स्वागत र उषा पाईजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

