
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रा देखि कास्कीको दोवाटो जाने क्रममा वेपत्ता भएकी एक जना पर्यटकको छ दिनपछि शव भेटिएको छ ।
गत नोभेम्बर २५ देखि वेपत्ता भएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको शव सोमबार अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने बंकरको भिरमा भेटिएको हो ।

वेपत्ता पर्यटकको खोजीमा परिचालन भएका पथप्रर्दशक र स्थानीयबासीहरुको टोलीले भिरको फेदीमा निगालोको झ्याङमा अड्कीएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घारबाट गएको प्रहरीको टोलीले पर्यटकको शवलाई घटनास्थलबाट उठाएर कागजी प्रक्रिया पुरा गरि हेलिकप्टर मार्फत सोमबारनै काठमाडौ लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो ।
खोप्रामा एक रात बास बसेर दोबाटोतिर गएकी पर्यटक पुरानो बाटोबाट हिड्ने क्रममा भिरबाट खसेको अनुमान गरिएको छ । ती पर्यटक पथप्रर्दशक बिनै एक्ले पदयात्रामा आएकी थिइन् ।

