
मल्लाज, ः पर्वतको जलजला गाउँपालिका अन्तरगतका विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि मल्लाजमा सुरु भएको छ ।
मल्लाजको विद्याज्येती मावि परिसरमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जलजला गाउँपालिकाका १५ वटा विद्यालयले सहभागिता जनाएका छन् । भलिबल, एथलेटिक्स र कवड्डी खेलका ३० वटा बिधामा प्रतिस्पर्धा हुनेछ् ।
प्रतियोगितामा बिजेताले रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ५० हजार प्राप्त गर्ने गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख देवी रिजालले जानकारी दिनुभयो ।


उपबिजेता र तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ३० हजार र २० हजार पाउनेछन् । उद्घाटनका अवसरमा भएको मार्चपासमा बनौ मावि प्रथम भएको छ ।
प्रतियोगिताका जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्घाटन गर्नुभयो । विद्यालय स्तरका खेल प्रतिभाको पहिचान र उनिहरुको प्रोत्साहनका लागि प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले प्रतियोगिताले जलजलाका खेल प्रतिभा पहिचान भई प्रदेश र राष्ट्रिय स्तरमा पुग्न मद्दत पुग्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, वडा अध्यक्ष र कार्यपालिका सदस्य, शिक्षा समितिका सदस्य लगायतको आतिथ्यता रहेको थियो ।

