
बेनी, । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा मंगलबार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा ‘प्रविधिको सही प्रयोग गरौ, लैगिंक हिंसाको अन्त्य गरौ’ भन्ने नारासहित सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जलजला गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले लैंगिक हिंसा अन्त्यका लागि सामुदायिक सहकार्य, सचेतना, महिलाको आत्मविश्वा वृद्धि, प्रविधिको सुरक्षित र सही प्रयोगमा जोड दिएका थिए ।
जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले सूचना प्रविधिको दुरुपयोगबाट बच्न र सदुपयोग गरि समाजलाई सुरक्षित, सभ्य र समतामुलक बनाउन सकिने बताउनुभयो । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरेर लैगिंह हिंसा हुन थालेकोकाले यसबाट बच्नका लागि साबधानी अपनाउन अनुरोध गर्नुभयो ।



गाउँपालिकाका जनप्रतिनिधी, टोल विकास संस्थाका पदाधीकारी, महिला समूह, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयबासीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, कार्यपालिका सदस्य बिमला बरुवाल, भिमसेन बराइलीले लैगिंक हिंसाको परिचय, कारण र असर, १६ दिने अभियानको इतिहाँस र औचित्यताको विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यपालिका सदस्य बबी केसी सुवेदीको अध्यक्षता र महिला तथा बालबालिका शाखाका प्रमुख बिन्दु शर्मा आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अधिकारकर्मी जमुना आचार्यले लैगिह हिंसाका प्रकार, जोखिम, रोकथामका तरिका र महिला शसक्तिकरणका प्रभावकारी उपायका विषयमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा जलजला गाउँपालिका–३ का कार्यवाहक वडा अध्यक्ष ठाकुर रेग्मी, लैसस सदस्य लक्ष्मी हमाल, प्रहरी चौकी मिलनचोक र पर्वत बेनीका प्रतिनिधीको पनि आतिथ्यता रहेको थियो । १६ दिनसम्म विभिन्न कार्यक्रम गरेर लैगिंक हिंसा विरुद्धको अभियान मनाइने गाउँपालिकाले जनाएको छ ।

