
बेनी, म्याग्दी सदरमुकाम बेनीमा मङ्गलबारदेखि २३ औँ अन्तर मा.वि. ‘जेसीजकप फुटबल’ प्रतियोगिता शुरु भएको छ ।
मङ्सिर १३ गतेसम्म बेनीको खुलामञ्चमा सञ्चालन हुने प्रतियोगिताको म्याग्दीका १९ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुले सहभागीता जनाउने जेसीज कप फुटवल म्याग्दीमा विद्यालय तहमा प्रतिस्पर्धा हुने लोकप्रिय र चर्चित प्रतियोगिताको रुपमा परिचित छ ।
प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुुख सुरत केसीले सोमबार उद्घाटन गर्नुभएको थियो । उद्घाटन खेलमा साविक बिजेता माउन्ट एभरेष्ट आवासीय माविले म्याग्दी एकेडेमी सिंगालाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै बिजय सुरुवात गरेको छ ।


अर्को खेलमा न्यु वेष्ट पोइन्ट आवासीय माविलाई बेनी सामुदायिक माविले एकका विरुद्ध दुई गोल गरेको छ । डनिङ इङलिस वोर्डिङ स्कुल बाबियाचौरले बालमन्दिर मावि कालीपुललाई शून्यका विरुद्ध एक र किसानी चन्द्रकुन्ता मावि धारापानीले हेम नमुना आवासीय मावि ताकमलाई शून्यका विरुद्ध दुई गोल गरेका छन् ।
पहिलो दिनको खेलमा बेनी सामुदायिक माविका गगन थापा, डनिङका दिप थापा, किसानीका किनिकेश थापा र माउन्टका एन्जील पुन म्यान अफ द म्याच घोषित भएका छन् । प्रतियोगिता संयोजक नवीन पौडेलले बिजेताले रनिङ्ग शिल्डसहित ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद रु. ५५ हजार पाँच सय ५५ र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु. ३५ हजार पाँच सय ३५ पुरस्कार प्राप्त गर्ने बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, राइजीङ प्लेयर, उत्कृष्ट प्रशिक्षकलाई नगदरु २ हजार पाँच सयसहित ट्रफिद्धारा पुरस्कृत गरिने म्याग्दी जेसीजका अध्यक्ष विनोद जिसीले बताउनुुभयो ।
त्यस्तै, अनुसासित टिम र सेमिफाइनल पुग्ने दुई टिमलाई नगद रु. ५ हजार सहित सहित सम्मान गरिने भएको छ । प्रतियोगिता सञ्चालनको लागि एभरेष्ट ग्लोबल एजुकेसन भिसा सर्भिस मुख्य प्रायोजक रहेको छ भने गंगा जिसी फाउण्डेसन र प्रभु बैँक सहप्रायोजकको रुपमा रहेका छन् ।
म्याग्दी जेसीजका पूर्व अध्यक्ष समेत रहनुभएका नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्रीले म्याग्दी जेसीजले हरेक बर्ष सञ्चालन गर्ने जेसीज कप फुटवलले म्याग्दीमा विद्यालय तहबाटै फुटवल खेलको विकास गर्न र खेलाडी उत्पादनमा रचनात्मक भूमिका खेल्दै आएको बताउनुभयो ।

