
बेनी ः बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले शैक्षिक वर्ष २०८२÷२०८३ का लागि विद्यार्थी गुणस्तर समुह गठन कार्य सम्पन्न गरेको छ ।
क्याम्पसमा शिक्षण शिकाइ कार्यलाई व्यवस्थित गर्ने प्रयोजनमा सहयोगी भूमिका खेल्न हरेक कक्षामा गुणस्तर समुह गठन गर्ने गरिन्छ । सबै कक्षाका गुणस्तर समुहहरुको भेलावाट क्याम्पसको मूल विद्यार्थी गुणस्तर समूह गठन गर्ने क्याम्पसको शैक्षिक प्रशासन विनियममा व्यवस्था रहेको छ ।
वि.वि.एस. तेस्रो वर्षमा अध्ययनरत सुस्मिता शर्माको संयोजकत्वमा क्याम्पसको मुल गुणस्तर समुह गठन भएको हो । सहसंयोजकमा बिआइसिटीइ पाँचौ सेमेष्टरमा अध्ययनरत हिमाल उपाध्ययाय, सचिवमा वि.वि.एस. चौथो वर्षका खनिरज हुमेन क्षेत्री, सहसचिवमा वि.एड.पुरानो दोस्रो वर्षकी संजिता परियार र कोषाध्यक्षमा वि.ए. प्रथम वर्षकी छात्रा शुसिला सुनार चयन भएका छन् ।
हरेक कक्षाका संयोजक क्याम्पसको मुल विद्यार्थी गुणस्तर समूहका स्वत सदस्य रहने व्यवस्था रहेको जनाइएको छ । मंसिर ७ गते आइतबार भएको कार्यक्रममा विद्यार्थीहरुलाई गुणस्तर समुहले गर्ने काम तथा कर्तव्यहरुको वारेमा क्याम्पस प्रमुख श्रीधर सुवेदीले अभिमुखीकरण समेत गर्नुभएको थियो ।
क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता र प्रत्यायन (क्युएए) को मान्यता प्राप्त गर्न विश्वविद्यालय अनुदान आयोगमा स्व–अध्ययन प्रतिवेदन पेश गरि सकेकाले गठित विद्यार्थी गुणस्तर समुह सहित स्वतन्त्र विद्यार्थी युनियन, अभिभावक संघ, पुर्व विद्यार्थी संघ, प्राध्यापक कर्मचारी, सञ्चालक समिति तथा समग्र समुदायको संयुक्त प्रयासवाट मात्र क्याम्पसले पुनः गुणस्तरको मान्यता हाशिल गर्न सक्ने यर्थातता रहेको क्याम्पस प्रमुख सुवेदीले बताउनुभयो ।
कार्यक्रममा करिब ५० जना विद्यार्थी सहित सहायक क्याम्पस प्रमुखहरु भोलानाथ घिमिरे, पशुपतिनाथ ढकाल र नारायण प्रसाद सुवेदी, विभागीय प्रमुखहरु प्रेम वहादुर जि.सी., नारायण पौडेल र विष्णु आचार्य तथा स्ववियु सचिव मञ्जुर कटुवाल क्षेत्रीको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता निवर्तमान संयोजक एलिशा वरुवाल, सञ्चालन सहायक क्याम्पस प्रमुख नारायण प्रसाद सुवेदी, स्वागत विभागीय प्रमुख विष्णु आचार्यले गर्नु भएको थियो भने स्ववियु सचिवले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।
निवर्तमान संयोजकले विद्यार्थीको चौतर्फी विकासका निमित्त विद्यार्थी गुणस्तर समूहमा आवद्धता हुनु जरुरी भएको भन्दै नवनिर्वाचित समुहलाई सफल कार्यकालको शुभकामना व्यक्त समेत व्यक्त गर्नु भएको थियो ।

