
म्याग्दीका क्रियाशिल पत्रकार साधन घर्ती मिडिया सोसाइटी अवार्ड २०८२ बाट सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीले हरेक वर्ष प्रदान गर्ने मिडिया अवार्ड यस वर्ष गोरखापत्र दैनिकका दरबाङ समाचारदाता समेत रहनुभएका घर्तीलाई प्रदान गरिएको हो ।
जिल्लाको मंगला गाउँपालिका ५ स्थित पर्यटकीय स्थल चाङ्गामा सोमबार आयोजित म्याग्दी मिडिया सोसाइटीको नवौं वार्षिक साधारणसभाका अवसरमा घर्तीलाई नगद ११ हजार सात सय ५० रुपियाँ र सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, वडा नम्बर ५ का वडाध्यक्ष भुपेन्द्रबहादुर खत्री, नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश समितिका उपाध्यक्ष प्रकाश पौडेल, पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम र म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष दलप्रसाद विश्वकर्मा लगायतले पत्रकार घर्तीलाई सम्मान गर्नुभएको थियो ।

विगत एक दशकदेखि म्याग्दीको पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार घर्ती गोरखापत्र अनलाइन तथा छापा सञ्चारमाध्यममा कार्यरत हुनुहुन्छ ।

प्रत्येक वर्ष एक जना पत्रकारलाई मिडिया अवार्डद्वारा सम्मान गर्न सोसाइटीले दुई लाख ५० हजार रुपियाँको अक्षयकोष स्थापना गरी अक्षयकोषबाट प्राप्त भएको ब्याज रकमबाट जिल्लाका क्रियाशिल एक जना पत्रकारलाई सम्मान गरिँदै आएको सोसाइटीका सचिव राकेश शर्माले जानकारी दिनुभयो ।
कार्यक्रमा गाउँपालिका अध्यक्ष रोकाले जिल्लाको विकास, सुशासन र स्थानीय तहको संस्थागत विकासमा पत्रकारले खेलेको भूमिका महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले स्थानीय तहलाई बलियो र सवल बनाउन पत्रकारहरुले रचनात्मक तवरले कलम चलाउनुपर्ने बताउनुभयो ।
पत्रकारको माध्यमबाट नै स्थानीय तहले गरेका राम्रा कामहरुको प्रचारप्रसार र गलत कामको खबरदारी गरी नागरिकलाई सुसूचित बनाउने काम गरेको उहाँको भनाइ थियो ।
गण्डकी प्रदेश समितिका उपाध्यक्ष पौडेल, वडाध्यक्ष क्षेत्री र महासंघ म्याग्दी अध्यक्ष गौतमले जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरुको दिगो व्यवस्थापन र पत्रकारहरूको क्षमता विकासमा स्थानीय तहहरूले सहयोग गर्नुपर्ने धाराणा राख्नुभएको थियो ।
वि.स. २०७४ मा श्रमजिवी पत्रकारहरुद्वारा सञ्चालित सञ्चार माध्यमहरुको सोसाइटी साझा संस्था हो । सोसाइटीले वि.स. २०७५ देखि प्रत्येक वर्षमा एक जना पत्रकारलाई पुरस्कृत एवम् सम्मान गर्दै आएको छ । संस्थाले प्रत्येक वर्ष पुरस्कार रकममा दस प्रतिशतले वृद्धि गर्दै लगेको छ ।

