
बेनी ः म्याग्दीमा दुई हजार दुई सय जना नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले गत असोज १० गतेदेखि शुक्रबारसम्म मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाएको थियो ।
उक्त अवधीमा दुई हजार दुई सय ३७ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन, कार्यालय म्याग्दीका प्रमुख बिमलप्रसाद गौतमले जानकारी दिनुभयो । “आठ सय १९ जनाले कार्यालयमै आएर नामदर्ता गराएका हुन,” उहाँले भन्नुभयो “राष्ट्रिय परिचयपत्र मार्फत एक हजार चार सय १८ जना थपिएका छन् ।”
८२ जना मतदाताको त्रुटी सच्चाइएको र एक सय ९० जनाको ठाउँसारी गरिएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताउनुभयो । गत असोज ८ गते निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रतिनिधीसभाको एक वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८४ हजार पाँच सय २० जना मतदाता थिए ।


नयाँ दर्ता गरेका नामावलीको रुजु गरी दोहोरो परेकाहरुको हटाएपछि कुल मतदाता संख्या एकिन हुने निर्वाचन कार्यालयले जनाएको छ । नाम दर्ता गराउनेमा युवा, युवती र वैदेशिक रोजगारीबाट फर्किएकाहरु धेरै छन् ।
मालिका गाउँपालिका–निस्कोटका साजन पुनले मतदानका लागि मतदाता परिचयपत्र आवश्यक पर्ने भएकाले नामावली दर्ता गरेको बताउनुभयो । पहिलो पटक मतदान गर्न लागेका २१ वर्षीय पुनले देशमा विद्यमान समस्या समाधान र युवाहरुको भावनाको सम्बोधन गर्ने उमेद्वार छनौट गर्ने योजना रहेको बताउनुभयो ।
म्याग्दीमा २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार एक सय २० जना मतदाता थिए । निर्वाचनका लागि म्याग्दीमा ८२ मतदानस्थल सिफारिस समेत गरिएको छ । छ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा छन् ।

