
बेनी, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको कामले गति लिएको छ ।
पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा देखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुदै म्याग्दी सदरमुकाम बेनी जोड्ने यो सडक दुई लेनको बनाएर कालापत्र गर्न वि.स. २०७७ देखि योजना शुरु भएको थियो ।
लक्ष्य भन्दा तीन वर्ष ढिलागरि सडक कालोपत्र गर्ने कामले गति लिएपछि स्थानीयबासी उत्साही भएका छन् । भारत र चिनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजना कार्यालय मार्फत १३ किलोमिटर सडक कालोपत्र गर्न सञ्चालित आयोजना अन्तिम चरणमा पुगेको छ ।


योजनाका सूचना अधिकारी इञ्जिनियर बिष्णु चापागाईले मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा सोमबारदेखि कालोपत्र शुरु भएको जानकारी दिनुभयो । “गत वर्ष मालढुङ्गा–फर्से खण्डमा कालोपत्र भएको थियो,” उहाँले भन्नुभयो “बाँकी रहेको फर्से–बेनी खण्डमा यही महिनाभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य सहित निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गरेको छ ।”
भित्ता काट्ने, कुना र डिलतर्फ टेवा पर्खाल बनाउने, नाली निर्माण सकिएको ठाउँमा बेस, सब बेस बिछ्याइएको छ । पाँच सेन्टिमिटर बाक्लो, सात मिटर चौडाइका दरले अक्सफाल्ट प्रबिधिको कालोपत्र गरिने योजना कार्यालयका सवइञ्जिनियर गणेशमान श्रेष्ठले बताउनुभयो ।
१३ किलोमिटर दुरिको मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित एक किलोमिटरलाई ठेक्काबाट हटाइएको छ । दुई किलोमिटर दुई सय मिटर ढलान भएको छ । यसअघि मालढुङ्गा–फर्से खण्डमा तीन किलोमिटर तीन सय मिटर कालोपत्र भइसकेको छ । उक्त खण्डको खनीयाघाट क्षेत्रमा गत वर्ष छुटेको तीन सय मिटरमा गत हप्ता दुई लेनको कालोपत्र भइसकेको छ ।

लस्ती बजारको पाँच सय ६० मिटर र लस्ती पुलदेखि केराबारीको पहिरोसम्म दुई सय ५० मिटरमा सोमबार एकतर्फी कालोपत्र भएको छ । मंगलबार उक्त खण्डमा दुईतर्फीनै कालोपत्र सकेर केराबारी देखि मिलनचोक तर्फ कालोपत्र सुरु गर्ने निर्माण कम्पनी एपेक्स – खड्का–कृष्ण जेभीका इञ्जिनियर जिवन चौधरीले बताउनुभयो ।
लस्ती–बेनी खण्डको छ किलोमिटर पाँच सय मिटर मध्य लामाखेत, केराबारी र मोहनचोक क्षेत्रमा सात सय मिटर ढलान भइसकेको छ । वारीबेनीको सात सय ६० मिटर, केराबारी र फर्से पहिरोमा एक÷एक सय मिटर बाहेक अन्य ठाउँमा अबको १५ दिनभित्र कालोपत्र गरिसक्ने इञ्जिनियर चौधरीले बताउनुभयो ।
कालोपत्रलाई तिब्रता दिनका लागि स्थानीय प्रशासनको समन्वयमा सोमबारदेखि म्याग्दी र मुस्ताङ जाने आउने सवारी साधनहरुलाई मालढुङ्गा–बागलुङ–रत्नेचौर– बेनी जोड्ने बैकल्पिक सडक बाट आवत जावत गर्ने ब्यवस्था मिलाइएको छ । बिहान १० देखि साँझ ५ बजेसम्म २० दिनका लागि मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि बन्द गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुभयो ।
एपेक्स–खड्का–कृष्ण जेभीले वि.स. २०७७ चैतमा रु. ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । वि.स. २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्य भन्दा तीन वर्षपछि पूर्णता पाउन लागेको हो । कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावको कारण देखाएर सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र बनाएको योजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका थिए ।
जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दा बाबुराम कार्कीले सडक कालोपत्र भएपछि यात्राअवधि छोटिने, ढुवानी र सार्वजनिक यातायातको भाडादर घट्ने, धुलो र हिलोमा जोखिम तथा कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।
सडक निर्माणलाई गति दिन जनप्रतिनिधी, उद्योगी ब्यवसायी र सरोकारवालाहरुले दवाव दिदै आएका छन् । यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् ।
‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । यसै आर्थिक वर्षभित्र सडक कालोपत्र सम्पन्न हुने आयोजनाले जनाएको छ ।

