
बेनी, बेनी नगरपालिका अन्तर्गतका विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी न्यु वेष्ट पोइन्ट आवासीय माविले जितेको छ ।
बेनीमा शनिबार सम्पन्न प्रतियोगितामा २१ स्वर्ण, १५ रजत र १६ कास्य पदक सहित वेष्ट पोइन्ट विजयी भएको हो । गत वर्षको बिजेता प्रकाश माविले २१ स्वर्ण, ११ रजत र पाँच कास्य पदक जितेर दोस्रो भएको छ ।
प्रकाश माविसँग बराबर स्वर्ण पदक बाँडेको वेष्ट पोन्टले रजत र कास्य पदकले प्रतियोगिता जित्न सफल भएको हो । ११ स्वर्ण, १५ रजत र १२ कास्य पदक जितेको बेनी सामुदायिक मावि तेस्रो भएको छ ।



एथलेटिक्स, भलिवल, कवड्डी, कराँते, तेक्वान्दो र उसु बिधाको ६६ वटा खेलमा २७ वटा विद्यालयका आठ सय वढी विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बिजेताले रु. ५१ हजारको साथमा रनिङ्ग शिल्ड, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश ः रु. ४० हजार र रु. ३० हजार रुपियाँको साथमा ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको छ । नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक चक्र केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

