
बेनी, ः भारत र चिनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक अन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । मालढुङ्गा–बेनी म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो ।
मालढुङ्गा–बेनी सडक अन्तर्गत यसअघि गत वर्षको फागुनमा पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा देखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्से सम्म पाँच किलोमिटर तीन सय मिटर कालोपत्र भएको थियो ।
बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी इञ्जिनियर बिष्णु चापागाईले बुधबार मालढुङ्गा–फर्से खण्डमा पर्ने खनीयाघाट क्षेत्रमा गत वर्ष बाँकी रहेको तीन सय मिटरमा कालोपत्र भएको र बिहिबारदेखि फर्सेदेखी बेनीतर्फ कालोपत्र शुरु गरिने जानकारी दिनुभयो ।

“१३ किलोमिटर दुरिको मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा करिब दुई किलोमिटर ढलान भइसकेको छ,” उहाँले भन्नुभयो “फराकिलो पार्ने, नाली, पर्खाल बनाउने, बेस र सब बेस राख्ने काम सकेर कालोपत्र गर्न लागिएको हो ।”

सवारी साधन ओहोर दोहोर गरिरहने भएकाले सडक कालोपत्र गर्न समस्या भएको निर्माण ब्यवसायीले बताएका छन् । कालोपत्र अवधीभर म्याग्दी र मुस्ताङ जाने आउने सवारी साधनहरुलाई मालढुङ्गा–बागलुङ–रत्नेचौर– बेनी जोड्ने बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।
मालढुङ्गा–बेनी सडकलाई ११ मिटर (दुई लेन) फराकिलो बनाएर अस्फाल्ट प्रबिधिको कालोपत्र र ढलान गर्न एपेक्स–खड्का–कृष्ण जेभीले वि.स. २०७७ चैतमा रु. ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । यसै वर्षभित्र कालोपत्र सक्ने लक्ष्य राखिएको छ ।
वि.स. २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्य भन्दा तीन वर्षपछि पूर्णता पाउन लागेकोमा स्थानीयबासी उत्साही भएका छन् । सडक निर्माणलाई गति दिन जनप्रतिनिधी, उद्योगी ब्यवसायी र सरोकारवालाहरुले दवाव दिदै आएका छन् ।
यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । यसै आर्थिक वर्षभित्र सडक कालोपत्र सम्पन्न हुने आयोजनाले जनाएको छ ।

