
बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ४ मा पर्ने नारच्याङ भएर बग्ने नदीहरुमा एक सय ६२ मेगावाट क्षमताका पाँच वटा जलबिद्युत आयोजना निर्माण भएका छन् ।
थप ६३ दशमलब तीन मेगावाट क्षमताको एक वटा आयोजना निर्माणाधिन र एक सय ७३ दशमलब १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् । वडा अध्यक्ष लोकबहादुुर पुनका अनुुसार पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२ र छ मेगावाट क्षमताको रेलेखोला जलबिद्युत आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् ।
नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युुत आयोजना निर्माणाधिन छ । नौ दशमलब १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलबिद्युत आयोजना निर्माण शुरु गर्ने तयारी गरेको छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलबिद्युत आयोजनाको बिद्युतगृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ ।
निर्माण भएका र निर्माणका क्रममा रहेका जलबिद्युत आयोजनाले नारच्याङको कायापलट भएको छ । भौतिक पुर्बाधार, सामाजिक, आर्थिक, कृषि लगायत समग्र बिकासमा जलबिद्युत आयोजनाहरुबाट महत्वपूर्ण योगदान भएको वडा अध्यक्ष पुनले बताउनुभयो ।

“हामीले कल्पना सम्म नगरेको अक्करे भिर छिचोलेर गाडी गुडेका मात्र छैनन् घरघरमा रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ,” उहाँले भन्नुभयो “अवसर र रोजगार खोज्दै सहर बजार, पसेका र बिदेशिएकाहरु गाउँ फर्किन थालेका छन् । बसाइसराई रोकिएको छ ।”
गाउँमै प्राबिधिक बिषयको बिद्यालय सञ्चालन, स्वास्थ्य संस्थाको भवन बनेका छन् । जलबिद्युत आयोजनाले निर्माण गरेको सडक, बेलिब्रिज र भवन लगायतका पुर्बाधारले स्थानीयबासीलाई सुबिधा पुगेको छ ।

जग्गाको मुआब्जा, ब्यापार, कृषि, पशुपालन, होटल, रेष्टुरेन्ट, ठेक्का–पट्टा, ढुवानी, यातायात ब्यवसाय, शेयर लगानी र ज्याला मजदुरीबाट गाउँलेको आर्थिक हैसियत फेरिएको स्थानीय अगुवा तेज गुरुङले बताउनुभयो ।
जलबिद्युत आयोजनाले सरकारलाई तिर्ने रोयल्टी (सलामी दस्तुर) मध्य संघीयले ५०, प्रदेश र पालिकालाई २५÷२५ प्रतिशतका दरले बाँडफाँड हुने संबैधानिक ब्यवस्था छ । नारच्याङमा रहेको प्रभा मावीले हाइड्रो इञ्जिनियरीङ बिषयको पठनपाठन सञ्चालन गरेको छ ।
म्रिस्तीखोला जलबिद्युत आयोजनाले बि.स. २०७१ कालीगण्डकी नदी माथि बेलिब्रिज राखेपछि नारच्याङ सडक सञ्जालमा जोडिएको थियो । बेशी र पटारको सिमाना स्थित म्रिस्तीखोला र बाँध देखि सुरुङमा जाने थप दुई वटा बेलिब्रिज बनाएको म्रिस्तीखोलाले फेदीसम्म १४ किलोमिटर सडक निर्माण गरेको छ । निलगिरिखोला जलविद्युत आयोजनाले छोटेपा हुुदै हुुमखोलासम्म पहुँचमार्ग बनाएपछि सहज यातायात पहुँच भएपछि अन्नपूूर्ण आधार शिविर नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको छ ।
रेलेखोला जलबिद्युत आयोजना निर्माण स्थल जाने सडक निर्माण भएपछि नारच्याङको बेशी देखि लेकगाउँ सडक सञ्जालमा जोडिएको वडा सदस्य श्याम पुर्जाले बताउनुभयो । घलेम्दी र म्रिस्तीखोला जलविद्युत आयोजनामा स्थानीयबासीले प्रभावित क्षेत्रको बासिन्दाका हिसाबले संस्थापक सेयर लगानी गरेका छन् । निलगिरि पहिलो, दोस्रो र रेलेखोला जलविद्युत आयोजनाको प्रर्वद्धकले सेयर निस्काशनको प्रक्रीयामा छन् ।
कालीगण्डकी र आसपासका नदीहरुमा निर्माण भएका र निर्माणाधिन जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युतलाई राष्ट्रिय प्रशारण प्रणालीमा जोड्न नेपाल बिद्युत प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा सबस्टेशन बनाएको छ । २०७७ मा निर्माण सकिएको २२० केभी क्षमताको सबस्टेशनबाट हाल घलेम्दी, म्रिस्ती र थापाखोला जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युत केन्द्रिय लाइनमा जोडिएका छन् ।
म्याग्दीको अन्नपूर्ण–३ दाना र पर्वतको कुश्मा–२ खुर्कोटमा सबस्टेशन र प्रशारण लाइन बनाएपछि कालीगण्डकी र आसपासका क्षेत्रमा जलबिद्युत आयोजना निर्माणमा लगानीकर्ताको सक्रियता बढेको नेपाल उद्योग बाणिज्य महासंघका पुर्ब उपाध्यक्ष समेत रेहका घलेम्दीखोलाका सञ्चालक प्रमोद श्रेष्ठले बताउनुभयो ।

