
बेनी, १९ कात्तिक ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ख्याली नाच समूहले नाचगानबाट संकलन भएको रकम सडक निर्माणका लागि सहयोग गरेका छन् ।
ख्याली नाच समूहका कलाकारहरुले दसैमा नृत्य प्रर्दशन गरेर दानदक्षिणवापत संकलन गरेको रु. एक लाख गुर्जा जोड्ने सडक योजनाका लागि सहयोग गरेका हुन् । उनिहरुले वि.स. २०८० र गत दशैमा नाचगान गरेर दक्षिणवापत रु. एक लाख १३ हजार संकलन गरेका थिए ।
समूहका सदस्यहरुले वडा अध्यक्ष झक छन्त्याल र वडा सदस्य गुनराम छन्त्याललाई नगद हस्तान्तरण गर्नुभएको थियो । उक्त रकम सडक निर्माणका लागि स्थानीय स्तरमा अगुवाई गरेको संस्था गुर्जा विकास मञ्चलाई उपलब्ध गराइने भएको छ ।

यसअघि गत तिहारमा गुर्जाको हिमाली आमा समूहले देउसीभैलो खेलेर संकलन गरेको रु. दुई लाख नगद पनि वडा कार्यालय मार्फत मञ्चलाई उपलब्ध गराएका थिए । गुर्जा म्याग्दीमा सडक सञ्जालको पहुँच नपुगेको एक मात्रै वडा हो । गाउँमा छिटो मोटरबाटो जोडियोस भन्ने उदेश्यले सहयोग गरेको आमा र ख्यालीनाच कलाकार समूहका पदाधीकारीहरुले बताउनुभयो ।

धवलागिरी गाउँपालिकलाको वडा नम्बर २ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म सडकको पहुँच पु¥याउन करिब पाँच किलोमिटर सडकको ट्याक निर्माण गर्न बाँकी रहेको छ ।
यसअघि पनि सरकारी बजेटको अतिरिक्त स्वदेश तथा विदेशमा रहेका गुर्जाबासीले गाउँमा सडक पु¥याउने योजनामा आन्तरिक स्रोत जुटाएर समेत सडकको ट्याक विस्तारको काम गर्दै आएका छन् ।
चालु आर्थिक बर्षभित्र गुर्जा गाउँमा सडकको पहुँच पु¥याउने लक्ष्यका साथ गाउँपालिका, प्रदेश र संघीय सरकारबाट विनियोजन भएको बजेटलाई परिचालन गर्ने तयारी गरिएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।
उहाँका अनुसार, लुलाङ–गुर्जा सडकका लागि यस बर्ष संघीय सरकारले समपुरक बजेटबाट रु १ करोड ४० लाख, गाउँपालिकाले समपुरक साझेदारी बजेट रु ३५ लाख, सहरी विकास मन्त्रालयबाट रु ३ करोड र गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ ।

