मरेनी, जलजला र मुनामा ‘रेडपाण्डा’ संरक्षण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, १६ कात्तिक ः म्याग्दीको धवलागिरी गाउँपालिकामा संकटापन्न जनावर रेडपाण्डा (हाब्रे) संरक्षण कार्यक्रम सञ्चालन भएको छ ।

दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धवलागिरी गाउँपालिका–२ र ३ मा पर्ने जलजला, मुना र मरेनी क्षेत्रमा संरक्षण कार्यक्रम लागू गरेको हो । समुन्द्री सतहबाट दुई हजार दुई सयदेखि चार हजार पाँच सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।

जैविक विविधता संरक्षण समाज नेपालका अध्यक्ष लक्ष्मणप्रसाद पौडेलले डिभिजन वन कार्यालय, ढोरपाटन शिकार आरक्ष र सम्बद्ध स्थानीय तहसँग समन्वय गरेर समुदाय स्तरमा रेडपाण्डा संरक्षणका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

Shreekrishna

“चोरीशिकारी, डढेलो, सडक विस्तार र मानवीय गतिबिधीका कारण रेडपाण्डाको संख्या वृद्धि र संरक्षणमा चुनौति देखिएको छ,” उहाँले भन्नुभयो “समुदाय स्तरमा रेडपाण्डाको महत्व बुझाएर संरक्षणको प्रयास गरेका हौ ।”

जनप्रतिनिधी, शिक्षक, विद्यार्थी, युवा क्लव, आमा समूह, सामुदायिक वन उपभोक्ता समूह, कृषकलाई रेडपाण्डा संरक्षणमा परिचालन गरिने पौडेलले बताउनुभयो । “हेर्दा आकर्षक देखिने लज्जालु र अल्छी स्वभावको रेडपाण्डाको महत्व नबुझेर अनायासै मार्ने गरेको पाइन्छ,” उहाँले भन्नुभयो “रेडपाण्डाको छाला महँगोमा बिक्री हुने भ्रमका कारण अनायासै चोरीशिकार गर्ने समस्या हटाउन सकेमा मात्रै पनि यसलाई जोगाउन सकिन्छ ।”

संस्थाका कार्यक्रम अधिकृत पवन राईले यसै वर्ष जलजलामा तीन वटा क्यामेरा जडान गरिएकोमा दुई वटामा रेडपाण्डा भेटिएको जानकारी दिनुभयो । “एक महिनासम्म स्थलगत अध्ययनका क्रममा रेडपाण्डाको दिसा भेटिएपछि क्यामेरा ट्यापिङ गरिएको थियो,” उहाँले भन्नुभयो “सो क्षेत्रमा छ वटा देखि २५ वटा सम्म रेडपाण्डाको बसोबास भएको हाम्रो अध्ययनबाट देखिएको छ ।”

स्थानीयबासी सहित अनुसन्धानकर्ताहरुको टोलीले धवलागिरी गाउँपालिकाको खिवाङ, मुदी, अर्चे, दर, ताकम, बगर, सिम्कोश, इटली आधार शिविर, मरेनी, लुलाङ, गुर्जाखानी, गुर्जा देउराली क्षेत्रमा स्थलगत अध्ययन गरेका थिए ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

स्थानीयबासीले वि.स. २०८० को असोजमा ढोरपाटन शिकार आरक्षको गुर्जाघाट र २०८१ को मंसिरमा मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाडा क्षेत्रमा हाब्रे भेटिएको तस्विर भिडियो सार्वजनिक गरेका थिए ।

वि.स. २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपाण्डाको दिसा भेट्टाएका थिए । अनुसन्धानकर्ता लरिसा गौतमले यस क्षेत्रमा रेडपाण्डा देखाउन पर्यटक भित्र्याएर समुदायमा आम्दानी र रोजगारीको अवसर सिर्जना गर्न सकिने बताउनुभयो ।

“पर्यटकीय राजधानी पोखरादेखि नजिकै पर्ने जलजला क्षेत्रमा रेडपाण्डासँगै हिमाल, मनमोहक पहाडी भुगोलको अवलोकन गर्न पाउनु रेडपाण्डा पाइने अन्य ठाउँको भन्दा फरक बिशेषता छ,” उहाँले भन्नुभयो “रेडपाण्डासँग जोडेर खेलकुद प्रतियोगिता आयोजना, होमस्टे र पदमार्ग सञ्चालन गर्न सकिन्छ ।”

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद अधिकारीले गुर्जा, लुलाङ र मुनाको जंगलमा रहेका रेडपाण्डाको गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको बताउनुभयो । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोमा रूखका हाँगा बसी आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसा लगायत झारपात खान भुईँमा झर्छ ।

रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जंगलमा पर्याप्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो ।

रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु. एक लाखदेखि रु. पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । पछिल्लो अध्ययन अनुसार हाब्रेको संख्या नेपालमा पाँच सय देखि एक हजार वटा रहेको अनुमान गरिएको छ । विश्वमा नेपाल, चिन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ ।

आइतबार बेनीमा डिभिजन वन कार्यालयको समन्वय र वायोकस नेपालको आयोजनामा रेडपाण्डा संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा रेडपाण्डा पाइएको सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधी, सुरक्षा अधिकारी र वन प्राविधिकहरुको उपस्थिति थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री र प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले समुदाय तहमा रेडपाण्डाको महत्व बुझाएर संरक्षणमा जुट्न आग्रह गर्नुभयो । रेडपाण्डाको संरक्षण र प्रर्वद्धनका गतिबिधिमा स्थानीय तहको साथै राज्यका निकायबाट सहयोग हुने प्रतिवद्धता जनाउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...