
म्याग्दी, ः तिहार पर्वको अवसरमा खेलिने देउसी भैलोको उद्देश्य र शैली फेरिएको छ ।
परम्परागत समाजमा मनोरञ्जनका लागि खेलिने देउसीभैलो आधुुनिक समाजमा संस्कृति र परम्पराको निरन्तरताको साथै शैली र उद्देश्य फेरिएको हो । पछिल्लो समय देउसी भैलीमा परम्परागत र आधुनिक संस्कृतिको मिश्रण हुनुुका साथै कतिपय संघ संस्थालाई आयस्रोत जुटाउने माध्यम बनेको छ ।
बेनी बजारका ८० वर्षीय नैनकुमार श्रेष्ठले देउसीभैलो पछिल्लो समय मनोरञ्जनमा मात्र सिमित नरहेको बताउनुभयो । “हाम्रो बाल्यकालमा लक्ष्मीपुजा गरेपछि टोलका बालबालिका जम्मा भएर रमाइलोका लागि आफैले मौलिक शैलिमा भट्याउदै देउसीभैलो खेलिन्थ्यो,” उहाँले भन्नुभयो “अहिले पुरानो शैलीमा भट्याउने, आशिष दिने र नाचगान गर्नुुका साथै माइकमा आधुुनिक गितमा नाचगान गर्ने चलन थपिएको छ ।”
देउसीभैलोमा पौराणिक कथाहरू प्रस्तुत गरेर रमाइलो पाराले भट्याउँदा सुन्नेलाई पनि आनन्द लाग्छ । देउसी–भैलो खेल्न पुगेकाहरूले सम्बन्धित घरको वर्णन गर्दै आफूहरू आउनुको ऐतिहासिक कारण खोल्दै आशिषसमेत दिने चलन छ ।


घरधनीले पनि त्यस्ता समूहलाई गच्छेअनुसार फलफूल, रोटी र दक्षिणा दिने गर्दछन् । देउसी भैलोमा गाइने गीतमा बलिराजाको प्रसंङ्ग जोडिएको पाइन्छ । विभिन्न प्रसङ्ग र कथनसँग जोडिएको देउसी भैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्ने जेष्ठ नागरिक श्रेष्ठको भनाई छ ।
सामुदायिक विद्यालय, संघ संस्था, क्लव, आमा समूूहले देउसीभैलो खेलेर मनोरञ्जन, संस्कृति र परम्पराको संरक्षणसँगै सहयोग जुटाउने माध्यम बनाएका छन् । तिहारमा कात्तिके दान दिदाँ पुुण्य मिल्ने धार्मिक विश्वास छ । म्याग्दीका बजार देखि ग्रामिण क्षेत्रमा खेलिएका देउसी भैलोमा परम्परागत रुपमा भट्याउने र आषिनुु दिनुुका साथै रेकर्ड गरिएका गितमा नृत्य प्रस्तुुत गरेका छन् ।
मौलिक पोषाकमा सजिएका युवती सालैजो, कौरा गीत, थाली गितमा छमछमी नाचेर देउसीभैलो खेलेका छन् । कलाकार निसा बुद्धुजाले स्थानीयबासीको माग र चाहना अनुसार परम्परागतदेखि आधुनिक कला संस्कृतिलाई समावेश गरेर देउसी भैलो खेलिएको बताउनुभयो ।
देउसी भैलोमा जिल्लाको कला संस्कृति संरक्षण, मनोरञ्जन प्रदानसँगै बचत रहेको रकमले सामाजिक काम गर्ने प्रचलन छ । धावलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविले प्राविधिक धारतर्फ इलेक्ट्रिकल इञ्जिनियरीङ विषयको पठनपाठनलाई थप व्यवस्थित बनाउने उद्देश्यले सेवा क्षेत्रमा देउसीभैलो आयोजना गरेको प्रअ केशरमान रावलले बताउनुभयो ।
रेकर्ड गित स्पिकरमा बजाएर नाच्ने गरिएको छ । यसो हुँदा देउसीभैलोको मौलिक पक्ष ओझेलमा परेको कलाकार अमित विश्वकर्माले बताउनुभयो । प्रविधिको उपयोग र आधुनिकताको अनुशरणसँगै मौलिकतालाई पनि निरन्तरता दिनुपर्ने उहाँको भनाई छ ।

